News चर्च ब्वाईज बन्यो तिलोत्तमा गोल्डकपको च्याम्पियन
सुरज राना मगर

बुटवल । प्रतिष्ठित २३औं तिलोत्तमा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाईज युनाइटेड, ललितपुरले जितेको छ ।

शनिबार सम्पन्न फाइनलमा चर्च ब्वाईजले विभागीय टोली एपिएफ फुटबल क्लब, काठमाडौंलाई २–० ले हराउँदै प्रतियोगिताको २३औं संस्करणको विजेता बनेको हो । चर्च ब्वाईजको जितमा राज भुषाल र रिचार्ड विल्सनले गोल गरे ।

विजेता बनेको चर्च ब्वाईजले उपाधिसहित नगद १२,१२,२२२ रुपैयाँ हात पार्यो भने उपविजेता एपिएफले ६,६६,६६६ रुपैयाँसहित ट्रफी, मेडलमा चित्त बुझायो । चर्च ब्वाईजका राज भुषाल फाइनल खेलको म्यान अफ दि म्याच बने । उनले पुरस्कार वापत नगद ११,१११ रुपैयाँ हात पारे ।

अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक पनि चर्च ब्वाईज कै विवश चौधरी चुनिए । उत्कृष्ट डिफेन्डर एपिएफका मान बहादुर राना बन्दा उत्कृष्ट मिडफिल्डर एपिएफका स्यामुएल सुनार बने । उत्कृष्ट फरवार्ड चर्च ब्वाईजका रिचार्ड विल्सन चुनिदा उत्कृष्ट प्रशिक्षक चर्च ब्वाईज कै आशिक थापा बने । विधागततर्फ उत्कृष्ट बनेका सबैले जनही ३१–३१ हजार हात पारे ।

प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने चर्च ब्वाईजका अमन लामा घोषित भए । उनले त्यसवापत एक थान स्कुटर हात पारे । विजेता तथा उपविजेता खेलाडीहरुलाई बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय, अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय उपाध्यक्ष दिर्घ बहादुर केसी, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, उपाध्यक्षद्वय बुद्धि गुरुङ्ग, मुकेश कुँवर, महासचिव हिमाल गौचन, सह–सचिव शंकर मल्लाह लगायतले पुरस्कृत गरेका थिए ।

 

Post Comments