
भैरहवा । मोफसल र रुपन्देही जिल्ला कै पुरानो मध्ये एक ३०औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिता आइतबारदेखि शुरु भएको छ ।
सिद्धार्थनगर–२ स्थित पक्लिहवा कृषि क्याम्पसको खेलमैदानमा भएको उद्घाटन खेलमा न्यु स्टार फुटबल क्लब, देवकोटाचोकले विजयी शुरुवात गर्यो । न्यु स्टारले उद्घाटन खेलमा लुम्बिनी खुकुरी क्लब, बेलहियालाई टाईब्रेकरमा हराउँदै विजयी शुरुवात गरेको हो ।
निशान्त न्यौपाने र राज भुषालको गोलबाट खेलमा दुई गोलको स्पष्ट अग्रता बनाएको लुम्बिनी खुकुरीले त्यसलाई जोगाउन सकेन । बिशाल सुनारले आत्मघाती गोल गर्दा न्यु स्टारले खेलमा पहिलो गोल फर्कायो । त्यस्तै निखिल सुनारले दोस्रो गोल थप्दै खेललाई २–२ को गोलको रोमाञ्चक बराबरीमा ल्याए ।
अन्ततः टाईब्रेकरमा न्यु स्टारले ३–१ ले विजयी बन्यो । खेलमा न्यु स्टारका गोलरक्षक बिशाल घर्ती म्यान अफ दि म्याच चुनिए । यो जितसँगै न्यु स्टार क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत चैत्र १८ गते सोमबारको खेल न्यु सृजना युवा क्लब, करौजिया र पक्लिहवा कृषि क्याम्पस, पक्लिहवाबीच हुने आयोजकले जानकारी दियो ।
त्यसअघि प्रतियोगिताको उद्घाटन सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँ ले गरेका थिए । सो अवसरमा आयोजक माछापुच्छ्रे क्लबका अध्यक्ष युवराज थापा, व्यवस्थापक दिपक कुमार थापा, अनुप थापा लगायतको उपस्थिति रहेको थियो ।
माछापुच्छ्रे क्लब, सिद्धार्थनगर–२ रुपन्देहीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने क्लबका अध्यक्ष युवराज थापाले बताए । फाइनल खेल यही चैत्र २८ गतेका दिन हुनेछ ।