News टोक्यो ओलम्पिक हुनेमा अझै अनिश्चित
गोलनेपाल

काठमाडौं (एजेन्सी) । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका एक वरिष्ठ सदस्यको भनाईलाई आधार मान्ने हो भने आउँदो जुलाईमा हुने भनिएको प्रतिष्ठित टोक्यो ओलम्पिक हुनेमा कुनै ग्यारेण्टी छैन ।

स्मरण रहोस, यो विश्व खेलकुदको कुम्भमेला यसअघि गत बर्ष २०२० को २४ जुलाईदेखि ९ अगस्तसम्म हुने तय भएको थियो । तर विश्वव्यापी कोरोना भाइरस महामारीका कारण गत मार्चमा यो ओलम्पिक स्थगित गरि २०२१ मा सारिएको थियो ।

तर हाल पनि आयोजक राष्ट्र जापान सहित अन्य देशहरुमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि आउँदो जुलाई २३ देखि ८ अगस्तसम्म हुने भनिएको यो बहुप्रतिक्षित प्रतियोगिता पनि फेरि अनिश्चित बनेको छ ।

टोक्यो ओलम्पिकको यो अनिश्चितताबारे क्यानडाका ओलम्पिक कमिटी सदस्य रिचार्ड पाउण्डले पनि आफ्नो धारणा राखेका छन् । बीबीसीलाई दिएको एक अन्तरवार्तामा पाउण्डले भनेका छन, "मैले निश्चित रुपमा ओलम्पिक हुन्छ भनेर भन्न सक्दिन । किनकी भाइरस अहिले पनि विश्वभर फैलिरहेको छ ।"

जापानमा आपतकालको घोषणा

स्मरणीय छ, जापानका प्रधानमन्त्री योशिहिडे सुगाले बिहीबार मात्र टोक्यो शहर र आसपासको क्षत्रमा आपतकाल कोषणा गरेका थिए । यो आपतकाल आउँदो फेब्रुअरी पहिलो सातासम्म कायम रहनेछ । टोक्योमा बिहीबार मात्र २४४७ कोरोना भाइरस संक्रमित थपिएका थिए ।

उता जापानले टोक्यो ओलम्पिक सफलताका साथ आयोजना गर्ने दावी गरिरहेको छ । तर आयोजक राष्ट्रले प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न के कस्तो ठोस योजना बनाएको छ ? त्यसबारे भने खुलासा गरेको छैन । त्यसैले गर्दा पनि टोक्यो ओलम्पिक आयोजनाबारे अझै पनि अनिश्चितताको कालो बादल मडारिरहेको छ ।

Post Comments