News आई लिगको १४औं संस्करण आजदेखि
सुरज राना मगर

काठमाडौं (एजेन्सी) । भारतीय फुटबलको शिर्ष फुटबल प्रतियोगिता मध्ये एक हिरो इण्डियन फुटबल लिग (आई लिग) को १४औं संस्करण शनिबारदेखि शुरु हुँदैछ । आउँदो मार्च २८ तारीखसम्म चल्ने लिगमा कुल ११ टोलीहरुले सहभागिता जनाउँदै छन् ।

गत सिजनको डिफेन्डिङ च्याम्पियन मोहन बगान इण्डियन सुपर लिग क्लब एटिकेसँग मर्ज भएपछि उसले यस सिजनदेखि एटिके मोहन बगानको नामबाट सुपर लिग खेलिरहेको छ ।

स्मरण रहोस, गत सिजनको लिगमा मोहन बगान १६ खेलबाट ३९ अंकका साथ शिर्ष स्थानमा थियो । कोभिड–१९ का कारण लिग बीचैमा स्थगित भएपछि मोहन बगानलाई लिग विजेता घोषणा गरिएको थियो । उता दोस्रो स्थानमा रहेको इस्ट बंगालको मात्र २३ अंक भएपछि आयोजकले भारी अन्तरका कारण मोहन बगानले विजेता घोषणा गरेको थियो ।

आइ लिगमा यस सिजन नयाँ नियमहरु

अल इण्डिया फुटबल फेडरेशनले यस सिजनदेखि केही नियमहरुमा पनि परिवर्तन गरेको छ । जसअनुसार लिगमा सहभागि क्लबहरुले यस सिजनदेखि बढीमा चार बिदेशी खेलाडीहरुलाई मैदानमा उतार्न पाउने छन् । त्यसमध्ये कम्तिमा एक जना एएफसीबाट मान्यताप्राप्त देशको खेलाडी हुनुपर्नेछ ।

लिगको ढाँचामा पनि केही परिवर्तन

कोभिड–१९ महामारीका कारण यस सिजनको लिगको ढाँचामा पनि केही परिवर्तन गरिएको छ । महामारी कै कारण लिग सञ्चालन अवधि पनि छोट्याईएको छ । जसअनुसार लिगमा सहभागि प्रत्येक टोलीले पहिलो चरणमा एक आपससँग खेल्नेछन् । त्यसपछि ती टोलीहरुलाई दुई समूहमा विभाजन गरिनेछ ।

एक समूहमा लिगका शिर्ष ६ टोलीहरु हुनेछन् । लिगतालिकाका शिर्ष ६ टोलीहरु फेरि एक आपसमा भिड्ने छन् । त्यो भिडन्तबाट सर्वाधिक अंक बटुल्ने टोली लिग विजेता बन्नेछ ।

स्मरण रहोस, शिर्ष ६ को प्रतिस्पर्धामा सहभागी हुने टोलीहरुले पहिलो चरणमा बटुलेको अंक पनि उनीहरुको खातामा सामेल हुनेछ । साथै लिग विजेता बन्ने टोली सन् २०२२ को एएफसी कपको समूह चरणको खेल खेल्न पनि छनौट हुनेछ ।

त्यस्तै अर्को समूहमा पुछारका पाँच टोलीहरु रहनेछन् । उनीहरुको खातामा पनि पहिलो चरणको प्रतिस्पर्धाबाट बटुलेको अंक कायम रहनेछ । यद्यपि ती पाँच टोलीहरुले रेलिगेशनका लागि प्रतिस्पर्धा गर्नेछ । रेलिगेशनमा पर्ने टोली आगामी सिजनको आइ लिग दोस्रो डिभिजनमा घटुवा हुनेछ ।

यस्ता छन् सहभागी टोलीहरु

यस सिजन लिगमा ११ टोलीहरु छन् । जसमा एजवाल, चेन्नई सिटी, चर्चिल ब्रदर्श, गोकुलम केरला, इण्डियन एरोज, मोहम्मदन, नेरोका, रियल काश्मिर, ट्राउ, राउण्डग्लास पञ्जाब र सुदेवा दिल्ली एफसी रहेका छन् । सुदेवा दिल्लीले यसै सिजनबाट आइ लिग खेल्ने अवसर पाएको हो ।

स्मरण रहोस, अल इण्डिया फुटबल फेडरेशनले आइ लिगमा खेल्न देशैभरिबाट इच्छुक टोलीहरुका लागि खुला रुपमा आवेदन आह्वान गरेको थियो । जसअन्तरगत फेडरेशनले अन्तिम छनौटका रुपमा सुदेवा दिल्ली र श्रीनिधी एफसी, विशाखापटनमलाई छानेको थियो । यद्यपि श्रीनिधीले आगामी सिजनबाट मात्र आइ लिग खेल्नेछ ।

नेपालका नम्बर एक गोलरक्षक किरन पनि आइ लिगमा

त्यसो त नेपाली राष्ट्रिय फुटबल टोलीका नम्बर एक गोलरक्षक किरन चेम्जोङ पनि आइ लिगमा खेल्ने तरखरमा छन् । लिग र क्लबमा किरनको यो दोस्रो स्पेल पनि हो । किरनले यसअघि सन् २०१८ मा मिनर्वा पञ्जाबका लागि आइ लिग खेलेका थिए । सोही बर्ष उनले पञ्जाबका लागि आइ लिग पनि जितेका थिए ।

गत बर्षको अक्टुबरदेखि भने क्लबको नाम परिवर्तन भई पञ्जाब एफसी राखिएको छ । क्लबको घरेलु मैदानका रुपमा रहेको गुरु नानक स्टेडियम लुधियानामा रहेको छ ।

एकै शहरमा हुने छन् सबै खेल

कोभिड–१९ महामारीका कारण अल इन्डिया फुटबल फेडरेशनले यस सिजन सबै खेलहरु एउटै शहरमा खेलाउने घोषणा गरेको थियो । जसअन्तरगत एआइएफएफले गत अगस्त १४ तारीखका दिन कोलकातालाई आयोजक शहरका रुपमा तोकेको थियो ।

कोलकाताको चार स्टेडियम विवेकानन्द युवा भारती कृरंगन, किशोर भारती कृरंगन, मोहन बगान ग्राउण्ड र कल्याणी स्टेडियममा आई लिगका खेलहरु हुनेछन् । लिगका सबै खेलहरु दर्शकविहीन रुपमा हुने बताइएको छ ।

लिगमा शनिबारको खेलहरु

लिगमा आज तीन खेलहरु हुँदैछन् । उद्घाटन खेलमा नवआगन्तुक टोली सुदेवा दिल्ली र मोहम्मदन भिड्दैछन् । त्यस्तै अर्को खेलमा किरनको टोली पञ्जाबले एजवालसँग खेल्दैछ भने गोकुलम केरलाले चेन्नई सिटीसँग भिड्दैछ ।

 

Post Comments