गछियालाई प्रथम प्रदिप राई स्मृति प्रकाशपुर गोल्डकपको उपाधि
गोलनेपाल

प्रकाशपुर । सुनसरीमा सम्पन्न प्रथम प्रदिप राई स्मृति प्रकाशपुर गोल्डकपको उपाधि गछिया युवा समाज, गछिया, मोरङले जितेको छ ।

शनिबार सम्पन्न फाइनलमा गछियाले घरेलु टोली प्रकाशपुर युवा जमात, बराहक्षेत्र, सुनसरीलाई पेनाल्टी शुटआउटमा ६–५ ले हराउँदै उपाधि उचाल्न सफल भएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

विजेता बनेको गछिया युवा समाजले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्दा उपविजेता प्रकाशपुरले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडलमा चित्त बुझाउन बाध्य बन्यो ।

गछियाका सबिन घिमिरे फाइनल खेलको प्लेयर अफ द म्याच बने । त्यस्तै अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक गछिया कै प्रमिजय गच्छदार बन्दा उत्कृष्ट डिफेन्डर पनि गछिया कै सुजन चौधरी बने । उत्कृष्ट मिडफिल्डर पनि गछिया कै सलोन जिमी चुनिए । त्यस्तै उत्कृष्ट फरवार्ड प्रकाशपुरका सोलोमन बन्दा उदियमान खेलाडी प्रकाशपुरका सुदिप पाण्डे र डेनिस कार्की बने ।

त्यस्तै उत्कृष्ट प्रशिक्षक गछियाका मनोज राई बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार गाईघाट युनाइटेडका उमेश कार्कीले हात पारे । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने प्रकाशपुरका योगेश खत्री घोषित भए ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी बराहक्षेत्र नगरपालिका, सुनसरीका नगर प्रमुख रमेश कार्की लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments