Province 1 बिराटनगर बिराट गोल्डकपको फाइनलमा
गोलनेपाल

बिराटनगर । रोमाञ्चक जितका साथ बिराटनगर सिटी फुटबल क्लब जारी बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न पहिलो सेमिफाइनलमा बिराटनगरले जावलाखेल युथ क्लबको चुनौति २–१ ले समाप्त पार्दै उपाधि नजिक पुगेको हो ।

शहिद रंगशालामा भएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भएका थिए । खेलमा अग्रता पनि बिराटनगरले नै लिएको थियो । खेलको ५९औं मिनटमा स्टेफन बिनङको गोलबाट घरेलु टोलीले खेलमा अग्रता बनाएको थियो । त्यस्तै ८७औं मिनटमा अभिषेक गुरुङले दोस्रो गोल गरे । जुन खेलको निर्णायक गोल पनि बन्यो ।

उता जावलाखेलका लागि इन्जुरी समयमा हिसुब थपलियाले गोल गर्दै टोलीलाई खेलमा फर्काउने झिनो आश र सम्भावना देखाए तापनि त्यो खेर जान पुग्यो । खेलमा बिराटनगरका स्टेफन बिनङ म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ११ हजार हात पारे ।

प्रतियोगिता अन्तरगत चैत १४ गते मंगलबारको दोस्रो सेमिफाइनल खेल लुका स्पोर्टस क्लब, भारत र एपिएफ फुटबल क्लब, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।

Post Comments