देवबहादुर पाचेको निर्णायक गोलमा महोत्तरी भेट्रान सेमिफाइनलमा प्रवेश
गोलनेपाल

महोत्तरी। महोत्तरीको बर्दिवास नगरपालिका–११, खयरमारा स्थित सहिद स्मृति खेल मैदानमा खयरमारा युवा क्लबको आयोजनामा सञ्चालित प्रथम भेट्रान फुटबल प्रतियोगिता २०८३ को चौथो दिनका खेल सम्पन्न भएका छन्। चौथो दिनसँगै प्रतियोगिताको पहिलो चरणका सम्पूर्ण खेलहरू पनि सम्पन्न भएका छन्।

चौथो दिनको खेलमा महोत्तरी भेट्रान र लाहान भेट्रानबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा महोत्तरी भेट्रानले लाहान भेट्रानलाई १–० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

खेलको पहिलो हाफदेखि नै दुवै टोलीले निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरेका थिए। यसैक्रममा पहिलो हाफको २१औँ मिनेटमा महोत्तरी भेट्रानका देवबहादुर पाचेले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफमा लाहान भेट्रानले खेलमा फर्किन निरन्तर प्रयास गरे पनि बराबरी गोल गर्न सकेन। अन्ततः देवबहादुर पाचेको पहिलो हाफमा गरेको गोल नै खेलको निर्णायक गोल बन्दा महोत्तरी भेट्रानले १–० को जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको हो।

त्यस्तै, खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्दै टोलीको जितमा निर्णायक एक गोल गरेका महोत्तरी भेट्रानका देवबहादुर पाचे 'म्यान अफ द म्याच' घोषित भए। उनले नगद रु. १ हजारसहित मेडल प्राप्त गरे भने खादा ओढाएर सम्मानसमेत गरिएको थियो।

प्रतियोगिताको विजेताले नगद रु. ७० हजारसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

त्यस्तै, प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई समेत नगद पुरस्कारसहित ट्रफी प्रदान गरिनेछ।

Post Comments