Province 2 हेटौडाको पिप्ले राजर्षि जनक कपको फाइनलमा
रमेश समदर्शी

राजेन्द्र रावल चम्किँदा हेटौडाको पिप्ले युवा क्लब यहाँ जारी पाँचौ राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ।

स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा विदेशी टोली अफ्रिकन रुट्स एशोसिएसन क्यामरुनलाई २-१ गोलअन्तरमा पराजित फाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमा एक गोल गरेर हेटौडाले दोस्रो हाफमा अग्रता दोब्बर बनाएको हो भने दोस्रो हाफमै क्यामरुनले पनि सान्त्वना गोल गरेको हो ।

एक महिनाअघि नेपाल भित्रिएको क्यामरुनी टोलीले अन्य स्थानमा फाइनलमा स्थान सुरक्षित बने पनि यहाँ भने सेमिफाइनलबाट बाहिरियो । पहिलो हाफको ४१औँ मिनेटमा राजेन्द्र रावलले गोल गर्दै हेटौडालाई अग्रता दिलाएका थिए ।

एकपछि अर्को आक्रमण बुनेको हेटौडाका लागि दोस्रो हाफको २०औँ मिनेटमा मात्र अग्रता दोब्बर बनेको थियो । जसमा राजेन्द्र रावल नै भाग्यमानी सावित भए । खेलको ८३औँ मिनेटमा क्यामरुनका सी एम्बाकोपले सान्त्वना गोल फर्काए पनि टोली खेलमा भने फर्कन सकेन ।

खेलको म्यान अफ दी म्याच हेटौडाका दुई गोलकर्ता राजेन्द्र रावल घोषित भए । उनलाई आयोजकको तर्फबाट नगद १० हजार नगदसहित पुरस्कार प्रदान गरियो ।

यसैबीच, खल्ती एक्साइटिङ फ्यान अफ दी म्याचको रुपमा समर्थकहरुको एक समूहबाट दीपा श्रेष्ठ घोषित भइन् । उनले खल्ती एपको तर्फबाट नगद २ हजार प्राप्त गरेकी छन् ।

बाग्मती युवा क्लब र बाग्मती नगरपालिकाको संयुक्त आयोजनामा भएको प्रतियोगितामा विदेशी २ टोलीसहित १० टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १० लाख एक हजार पाउँदा उपविजेताले नगद ५ लाख ५ सय र ट्रफीमा चित्त बुझाउनु पर्नेछ ।

शनिबारको खेल आयोजक बागमती नगरपालिकाले सशस्त्र प्रहरीको एपीएफ टोलीसँग प्रतिस्पर्धा हुनेछ ।

Post Comments