Province 2 चैत्रमा राजर्षि जनक कप, विजेताले १० लाख
गोलनेपाल

बागमती । प्रदेश नम्बर २ को प्रतिष्ठित राजर्षि जनक कप फुटबल प्रतियोगिता आगामी चैत्र १२ गतेदेखि शुरु हुने भएको छ । बागमती नगरपालिका र बागमती युवा क्लब, सर्लाहीको संयुक्त आयोजनामा बिगत पाँच वर्षदेखि निरन्तर आयोजना हुँदै आएको प्रतियोगिताको छैठौं संस्करण चैत्र १२ देखि १९ गतेसम्म हुने आयोजकले जनाएको हो ।

बागमती नगरपालिका–११ स्थित सन्तोष श्रेष्ठ स्मृति खेलमेदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५ लाख ५ सय प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार पुरस्कार रहेको छ भने सर्लाहीको एक उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्ने पनि आयोजकले जानकारी दियो ।

त्यस्तै आयोजकले खल्ती वालेटलाई अनलाईन टिकट पार्टनरका रुपमा घोषणा गरेको छ । आयोजकका अनुसार खल्ती एपबाट टिकट खरिद गर्दा २० प्रतिशत छुट दिईने बताइएको छ ।

सर्लाही जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहने प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम पनि रहेको छ ।

 

 

Post Comments