Province 3 आई लिगमा किरनको टोली पञ्जाबको विजयी शुरुवात
गोलनेपाल

काठमाडौं । चर्चित हिरो इण्डियन लिग (आई लिग) को नयाँ सिजनमा नेपालका नम्बर एक गोलरक्षक किरन चेम्जोङको टोली राउण्डग्लास पञ्जाब एफसीले विजयी शुरुवात गरेको छ ।

पञ्जाबका लागि करियरको तेस्रो स्पेल खेलिरहेका किरनको टोलीले आफ्नो पहिलो खेलमा श्रीनिदी डेक्कन एफसीलाई २–१ ले हराउँदै विजयी शुरुवात गरेको हो । पञ्जाबले पहिलो हाफ मै गरेको दुई गोल टोलीलाई तीन अंक दिलाउन प्रर्याप्त बन्यो ।

हरयाणा स्थित ताउ देवीलाल फुटबल स्टेडियममा सम्पन्न खेलको २३औं मिनटमा लुका मज्केनले पहिलो गोल गरे । त्यस्तै ४३औं मिनटमा स्यामुएल ललमुअनपुइयाले दोस्रो गोल थपे जुन खेलको निर्णायक गोल पनि बन्यो । उता डेक्कनका लागि ५८औं मिनटमा शाहबाज खानले एक गोल फर्काए तापनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

किरनले खेलमा पहिलो रोजाई मै रहेर पञ्जाबका लागि खेले । पञ्जाबले आफ्नो आगामी खेल आउँदो आइतबार मोहम्मदन स्र्पोटिङ क्लब विरुद्ध खेल्नेछ ।

स्मरण रहोस, किरनले यसअघि सन् २०१७–१८ मा मिनर्वा पञ्जाबका लागि खेल्दै लिग उपाधि समेत जितेका थिए । त्यस्तै सन् २०१९–२० को सिजनमा पनि राउण्डग्लास पञ्जाबका लागि दोस्रो स्पेलमा खेलेका थिए ।

Post Comments