Province 3 प्रथम अन्तर स्कुल मेयर कपको खेलतालिका सार्वजनिक
गोलनेपाल

चितवन । प्रथम अन्तर स्कुल मेयर कप फुटबलको छनौट चरण शुक्रबार र शनिबार हुने भएको छ । भरतपुर महानगरपालिकाको आयोजनामा हुने प्रतियोगिताको पहिलो चरणको खेल तालिका सार्वजनिक भएको हो ।

प्रतियोगिताका लागि कुल ३९ विद्यालयले नाम दर्ता गराएका छन् । जसमध्ये ९ टोली बाइ पाउँदै लिग चरणका लागि छनौट भइसकेका छन् । तालिका अनुसार छनौट चरणमा ३० टोली सहभागी हुनेछन् । सामुदायिक विद्यालयबाट २४ टोली छनौट चरणमा सहभागी हुनेछन् । जसबाट १२ टोली लिगका लागि छनौट हुने सह-आयोजक चितवन जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष एवं खेल संयोजक विजय घलेले जानकारी दिए ।

संस्थागत विद्यालयबाट सहभागी भएका १५ मध्ये ९ विद्यालय बाइ पाउँदै लिग चरणका लागि छनौट भएका छन् । बाँकी ६ टोलीले पहिलो चरणमा प्रतिस्पर्धा गरेर तीन टोलीले लिगमा स्थान बनाउनेछन् । लिगका लागि सामुदायिक र संस्थागतबाट १२-१२ गरी २४ टोली छनौट हुनेछन् ।

छनौट चरणका खेलहरु अमर मावि पटिहानी, गौरीगञ्ज चौर र शारदानगर खेल मैदानमा हुनेछ । पहिलो चरण सम्पन्न भएपछि लिगका लागि २४ टोलीको खेल तालिका सार्वजनिक गरिने घलेले बताए । प्रतियोगिता बैशाख अन्तिम सातादेखि सुरु हुनेछ । लिग करिब दुई महिना चल्नेछ ।

भरतपुर महानगरपालिकाको आयोजना र चितवन जिल्ला फुटबल संघको सह-आयोजनामा पहिलो पटक अन्तर विद्यालय फुटबल लिग हुन लागेको हो । प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।

Post Comments