Province 4 पोखरा वार्ड कपः आजदेखि क्वाटरफाइनल खेलहरु हुँदै
उमेश पुन
पोखरा । पोखरा महानगर खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिता अन्तर्गत मंगलबारबाट क्वाटर फाइनलका खेलहरु सुरु हुँदैछन् । सोमबार पोखरा १९ लामाचौरस्थित गोष्तेघाट खेल मैदानमा भएको खेलमा पोखरा वडा नं १३ ले २६ लाई पराजित गर्दै अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको छ ।
 
सम्पन्न खेलमा निर्धारित समयमा १–१ गोलको बराबरीमा खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । पहिलो गोलको खाता वडा नं १३ का सचित गुरुङले खोले पनि उनकै सुसाइड गोलले खेल टाइब्रेकर सम्म पुग्यो । टाइब्रेकरमा वडा नं १३ विजयी हुँदै अन्तिम आठमा नाम लेखायो ।
 
यस्तै सोही मैदानमा भएको एक अर्को खेलमा वडा नं १५ ले २५ लाई १–० गोलले पाखा लगायो । उक्त गोल राहुल थापाले गरेका थिए । यस्तै खेलमा बलियो टिममा रहेको वडा नं ५ लाई वडा नं ८ ले १–० गोल अन्तरले स्तव्ध बनायो । खेलको अन्तिम मिनेटमा मेजमान गुरुङले गरेको गोल नै जितका लागि प्रयाप्त रह्यो । त्यस्तै सोही मैदानमा भएको अन्तिम खेलमा वडा नं ३० ले १० लाई ३–१ गोलले पराजित गरेको छ । उक्त खेलमा ३० का लागि सिजन ठकुरीले दुई गोल र पुकार ताम्राकारले एक गोल गरे भने एक गोल वडा नं १० का लागि बर्मा नेपालीले फर्काए ।
 
यस्तै पोखरा रंगशालामा सञ्चालन भएका खेलहरुमा वडा नं १४, ३२, २४ र २७ अन्तिम आठमा पुगेको प्रतियोगिता व्यवस्थापन समितिका सदस्य नर बहादुर गुरुङले जानकारी दिए । सम्पन्न खेलमा १४ ले ३३ लाई ३–२ गोलले, ३२ ले १२ लाई ३–० ले, २४ ले ६ लाई २–० ले र २७ ले ३१ लाई ३–० गोल अन्तरले पराजित गर्न सफल रहे ।
 
प्रतियोगितामा विजेता टिमले नगद १ लाख ५० हजार र उपविजेताले नगद १ लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार र अन्य विद्यागत उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट फवार्ड हुनेले जनही नगद ५ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
 
प्रतियोगिताले स्थानियस्तरमा खेलाडी उत्पादन संगै फुटबल विकासका लागि सहयोग पुग्ने अपेक्षा गरिएको समितिका अध्यक्ष दिपक गोदारले जनाएका छन् । प्रतियोगिता सम्पन्न गर्न ९ लाख खर्च हुने आयोजकले जनाएको छ ।
 
यहि जेठ ११ गते सम्म सञ्चालन हुने प्रतियोगितामा ३० वडाहरुको सहभागिता रहेको छ । मंगलबारबाट सम्पूर्ण खेलहरु पोखरा रंगशाला केन्द्रित हुने समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।
Post Comments