माथागढी । झडेवा युवा क्लब, माथागढी गाउँपालिका–४, झडेवा, पाल्पाको आयोजनामा बिहीबारदेखि छैठौं झडेवा कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ ।
माथागढी–४ स्थित आयोजक क्लब कै झडेवा फुटबल मैदानमा भएको प्रतियोगिताको पहिलो दिन तीन खेलहरु सम्पन्न भए । जसमा भगवती एफसीले योङ ब्वाईजलाई २–० ले हरायो ।
अर्को खेलमा एनजेवाईसीले झडेवा एफसी (बी) लाई २–१ ले पराजित गर्दा दमकडा फुटबल क्लब (बी) ले सराई (बी) लाई १–० को साँघुरो अन्तरले निराश तुल्यायो ।
त्यसअघि प्रतियोगिताको उद्घाटन माथागढी गाउँपालिका, पाल्पाका अध्यक्ष यम बहादुर चिदी मगर, माथागढी गाउँपालिका वार्ड नम्बर ४ का अध्यक्ष शंकर दर्लामी, आयोजक क्लबका अध्यक्ष तथा कार्यक्रम संयोजक निश्चल श्रेष्ठ लगायतले संयुक्त रुपमा गरेका थिए ।
गाउँघरमा स्थानीय खेलाडीहरुलाई सानो भए पनि निरन्तर फुटबलमा अवसर प्रदान गर्ने उद्देश्यले वार्षिक रुपमा झडेवा कपको आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष निश्चल श्रेष्ठले बताए ।
आउँदो असोज २१ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५०,५५५ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले २५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा कुल १४ टोलीहरु सहभागि छन् ।