Province 5 निखिलको निर्णायक गोलमा भैरव स्पोर्ट्स क्लब विजयी
गोलनेपाल

 तिलोत्तमा । चलिरहेको प्रतिष्ठित ३८ औं झरना रनिङ सिल्ड नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा भैरव स्पोर्ट्स क्लबले रोमाञ्चक जित दर्ता गरेको छ। उपाधि दाबेदार मानिएको भैरव स्पोर्ट्स क्लबले सम्पूर्ण युवा क्लबलाई १-० को साँघुरो गोल अन्तरले पराजित गर्दै अर्को चरणको यात्रा तय गरेको हो।

खेल सुरु भएको १० औं मिनेटमै भैरव स्पोर्ट्स क्लबका निखिल पुनले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफको सुरुवातमै खाएको सोही गोल नै खेलको 'विनिङ गोल' साबित भयो। बाँकी समयमा सम्पूर्ण युवा क्लबले गोल फर्काउने केही राम्रा अवसरहरू पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन। खेलभरि उत्कृष्ट प्रदर्शन गरेका गोलकर्ता निखिल पुन नै खेलको 'म्यान अफ द म्याच' घोषित भए।

प्रतियोगिता अन्तर्गत भोलिको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। भोलि घरेलु मैदान र दर्शकको साथ पाउने आयोजक झरना स्पोर्ट्स क्लब र बलियो प्रतिद्वन्द्वी मुर्गिया फुटबल क्लब बीच महाभिडन्त हुनेछ।

झरना स्पोर्ट्स क्लबको आयोजनामा भइरहेको यस ऐतिहासिक प्रतियोगिताको विजेताले नगद ४ लाख रुपैयाँ सहित रनिङ सिल्ड हात पार्नेछ भने उपविजेता टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ।

Post Comments