Province 5 मणिग्राम युनाइटेडलाई चौथो लाफा तथा प्रथम वार्ड अध्यक्ष कपको उपाधि
सुरज राना मगर

बुटवल । लाफा समूह, बुटवल, रुपन्देहीको आयोजनामा सम्पन्न चौथो लाफा तथा प्रथम वार्ड अध्यक्ष कप खुला फुटसल प्रतियोगिताको उपाधि मणिग्राम युनाइटेडले जितेको छ ।

शनिबार एडरिक फुटसलमा सम्पन्न फाइनलमा मणिग्राम युनाइटेडले होराईजन स्पोर्टस क्लबलाई ४–१ को अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

विजेता बनेको मणिग्रामले उपाधिसहित नगद ७० हजार हात पार्दा उपविजेता बनेको होराईजन स्पोर्टसले ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

विधागततर्फ पनि मणिग्राम कै वर्चश्व रह्यो । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी मणिग्रामका सरोज पनेरु बन्दा उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताको पुरस्कार क्रमशः मणिग्राम कै दिक्षान्त दर्लामी र अशोक घर्ती मगरले हात पारे ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी बुटवल उपमहानगरपालिका वार्ड नम्बर ८ का वार्ड अध्यक्ष यज्ञ प्रसाद पंगेनी, आयोजक लाफा समुहका संस्थापक अध्यक्ष तारा रेश्मी, आयोजक लाफा समूह कै अभिभावकत्वका रुपमा निरन्तर सक्रिय बासुदेव लामिछाने, वरिष्ठ फुटबल प्रशिक्षक यम प्रसाद गुरुङ, युवा व्यवसायी सुमन मगर, खेल संयोजक बारिश राना लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments