Province 5 सन्देशको ह्याट्रिकमा नवजिवन च्याम्पियन
सुरज राना मगर

तिलोत्तमा । फाइनलमा सन्देश केसी एक्लैले ह्याट्रिक गरेपछि प्रथम मणिग्राम फिटनेस खुला फुटसल प्रतियोगिताको उपाधि नवजिवन एफसी, तिलोत्तमा–६ दश नम्बरले जितेको छ ।

मंगलबार भएको रोमाञ्चक उपाधि भिडन्तमा नवजिवनले सिद्धार्थ क्लबलाई ३–२ ले हराउँदै विजेता बन्न सफल भएको हो । तिलोत्तमा–५ स्थित युनिक फुटसल एरिनामा सम्पन्न खेलमा नवजिवनका लागि सन्देश केसीले ह्याट्रिक गर्दा पराजित सिद्धार्थका लागि प्रशन्न श्रेष्ठ र विश्वास थापाले गोल गरे ।

विजेता बनेको नवजिवनले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता सिद्धार्थले २५ हजारमा चित्त बुझायो । त्यस्तै व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सिद्धार्थ क्लबका अनुप गुरुङ घोषित भए । उनले त्यसवापत नगद २५ सय र ट्रफी हात पारे ।

त्यस्तै उदियमान खेलाडी पनि सिद्धार्थ कै प्रशन्न श्रेष्ठ चुनिदा उत्कृष्ट गोलरक्षक नवजिवनका निशान थापा मगर घोषित भए । प्रतियोगिताभरि कुल ८ गोल गरेका नवजिवन कै सन्देश केसीले सर्वाधिक गोलकर्ताको पुरस्कार जिते । तीनै खेलाडीले ट्रफीसहित नगद जनही २–२ हजार हात पारे ।

विजयी खेलाडीहरुलाई विशिष्ठ अतिथी गणेश पाठक, आयोजक मणिग्राम फिटनेस क्लबका अध्यक्ष गणेश बस्याल, युनिक फुटसलका प्रमुख कार्यकारी रमेश डुम्रे, प्रतियोगिता संयोजक सुवाश केसी तथा आयोजकका दिपेन बुढाथोकी र मदन सलामी लगायतले पुरस्कृत गरेका थिए ।

प्रवेश खड्का क्षेत्रीको सञ्चालनमा भएको समापन कार्यक्रमको प्रमुख अतिथी भने तिलोत्तमा नगरपालिका वार्ड नम्बर ५ का वार्ड अध्यक्ष चेत नारायण भण्डारी रहेका थिए ।

फिटनेसका लागि फुटसलः आयोजक

महामारीका कारण लामो समय बन्दाबन्दी हुँदा खेलकुद गतिविधी शुन्य भएपछि स्थानीय खेल क्षेत्र नै ओझेलमा परेकोले आफूहरुले स्थानीय खेलक्षेत्रलाई ब्युँताउने सानो प्रयास स्वरुप फुटसल प्रतियोगिता आयोजना गरेको प्रतियोगिता संयोजक सुवास केसीले बताए ।

त्यस्तै आयोजक क्लबका अध्यक्ष गणेश बस्यालले खेलकुदले सबैलाई फिट राख्न सघाउ पुर्याउने भएकोले खेलक्षेत्रलाई निरन्ततर चलायमान राख्न आफूहरुले प्रतियोगिताको आयोजना गरेको जानकारी दिए । साथै प्रतियोगितालाई आगामी दिनहरुमा पनि निरन्तरता दिने योजनामा रहेको समेत बताए ।

मणिग्राम फिटनेस क्लब, तिलोत्तमा रुपन्देहीको आयोजनामा सम्पन्न भएको दुई दिने प्रतियोगितामा कुल २० टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments