Province 5 एन्फा उपाध्यक्ष केसीलाई गृहजिल्लामा भव्य स्वागत
सुरज राना मगर

बुटवल । अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय उपाध्यक्षमा निर्वाचित दिर्घ बहादुर केसी (कुमार) लाई गृहजिल्ला रुपन्देहीमा भव्य स्वागत गरिएको छ । केन्द्रिय उपाध्यक्षमा निर्वाचित भएपछि पहिलोपटक गृहजिल्ला पुगेका केसीलाई शनिबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगतै भव्य स्वागत गरिएको थियो ।

सो अवसरमा उनलाई रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, उपाध्यक्षद्वय बुद्धि बहादुर गुरुङ, मुकेश कुँवर लगायत अन्य पदाधिकारीहरुले विमानस्थलमा बधाईसहित स्वागत गरेका थिए । सो अवसरमा जिल्लाकै पुरानो र सफल क्लब मध्ये एक गोर्खा ब्वाईज स्पोर्टस क्लबका पदाधिकारीहरु, खेलाडीहरु, रुपन्देही जिल्ला फुटबल संघमा आवद्ध क्लबका पदाधिकारीहरु साथै भूपू र वर्तमान फुटबल खेलाडीहरुको पनि उपस्थिति रहेको थियो ।

भव्य स्वागतपछि केसीले गृहजिल्लामा आफूलाई दिएको यो न्यानो सद्भाव, आत्मियता र समर्थनप्रति सधै आभारी रहने बताए । सबैको साथ र सहयोगले आफू यो स्थानमा आइपुगेको बताउँदै उनले केन्द्रमा रहेर पनि आफ्नो गृहजिल्लाको फुटबल गतिविधीहरुलाई निरन्तर नियाल्दै सक्दो सहयोग गर्ने बताए ।

स्मरण रहोस, केसी रुपन्देही जिल्ला फुटबल संघका निवर्तमान अध्यक्ष समेत हुन् । साथै एन्फा कै केन्द्रिय सदस्य रहेर उनले भर्खरै चार वर्षे कार्यकाल पनि पूरा गरेका थिए । यसपटक एन्फाको केन्द्रिय निर्वाचनमा भने उनी कर्मा छिरिङ शेर्पाको प्यानलबाट उपाध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएका थिए । जसमा उनी सफल पनि भए ।

गत असार ६ गते सम्पन्न एन्फाको केन्द्रिय निर्वाचनमा बहुमत निकाल्दै पंकज विक्रम नेम्वाङ नयाँ अध्यक्ष चुनिएका थिए । नेम्वाङले आफ्ना निकटतम प्रतिद्वन्द्वी कर्मा छिरिङ शेर्पालाई ४५–३९ मतका आधारमा पराजित गरेका थिए ।

Post Comments