Province 5 शुद्धोधन गाउँपालिका १०औं फर्साटिकर कप शुरु, नवयुवाको उत्कृष्ट शुरुवात
सुरज राना मगर

बुटवल । मोफसलमा अलग पहिचान बनाएर पछिल्लो एक दशकदेखि निरन्तर आयोजना हुँदै आएको शुद्धोधन गाउँपालिका फर्साटिकर कप खुला नकआउट फुटबल प्रतियोगिताको दशौं संस्करण शुक्रबारदेखि शुरु भएको छ ।

शुद्धोधन गाउँपालिका–४ स्थित फर्साटिकर उच्च माविको खेलमैदानमा भएको उद्घाटन खेलमा नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलले उत्कृष्ट शुरुवात गर्यो । उद्घाटन खेलमा नवयुवाले फर्साटिकर एकेडेमीलाई शून्यका विरुद्ध ४ गोलले हरायो । नवयुवाका लागि महेश आले मगरले ह्याट्रिक गरे भने उमेश थापाले थप एक गोल गरेका थिए ।

खेलमा प्रतियोगिता कै पहिलो ह्याट्रिककर्ता बनेका नवयुवाका महेश आले मगर म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद १५ सय र ट्रफी हात पारे । यो जितसँगै नवयुवा प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत माघ ७ गते शनिबारको खेल गोर्खा ब्वायज स्पोर्टस क्लब र भूपू सैनिक जवई स्र्पोटिङ क्लबबीच हुने खेल संयोजक बिष्णु पंगेनीले जानकारी दिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका प्रतियोगिताको मुख्य प्रायोजक शुद्धोधन गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद बस्याल, आयोजक फर्साटिकर युवा क्लबका अध्यक्ष मुकेश कुँवर, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन लगायतले गरेका थिए ।

फर्साटिकर युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,२५,५५५ रुपैयाँ प्राप्त गर्ने संयोजक पंगेनीले बताए । कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल माघ २१ गतेका दिन हुनेछ ।

 

Post Comments