Province 5 नवयुवालाई न्यु राईज कपको उपाधि
सुरज राना मगर

बभनी । स्व. देवी भण्डारी, स्व. लाल प्रसाद पुन र स्व. समनलाल चौधरीको स्मृतिमा सम्पन्न तेस्रो न्यू राईज कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलले जितेको छ ।

माघ ७ गते शनिबारका दिन सम्पन्न फाइनलमा नवयुवाले समपुर्ण युवा क्लब, सुपौलीमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै च्याम्पियन बनेको हो । तिलोत्तमा नगरपालिका–१३, बभनी स्थित भूपू सैनिक आधारभुत विद्यालयको खेलमैदानमा सम्पन्न खेलमा नवयुवाका लागि बिशाल सुनार, जितेश गुरुङ्ग र अरुण चौधरीले गोल गरे । उता पराजित समपुर्णका लागि कमल भट्टराई र सबी गुरुङ्गले गोल गरेका थिए ।

विजेता बनेको नवयुवाले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता समपुर्णले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

समपुर्णका सबी गुरुङ्ग प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट गोलरक्षक नवयुवा कै आयुष बुढा मगर चुनिए भने सर्वाधिक गोलकर्ताको पुरस्कार आयोजक न्यू राईज युथ क्लबका हिमाल थापाले हात पारे ।

विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँड, आयोजक क्लबका अध्यक्ष बिष्णु प्रसाद पराजुली लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।

न्यू राईज युथ क्लब, तिलोत्तमा–१३, वभनीको आयोजनामा गत पौष २७ गतेदेखि शुरु प्रतियोगितामा कुल १८ टोलीहरुले सहभागिता जनाएका थिए । समापन कार्यक्रममा प्रतियोगिता सम्पन्न गर्न सहयोग पुर्याउने विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई पनि सम्मान गरिएको क्लबका सचिव कृष्ण खनालले बताए ।

त्यस्तै आयोजक क्लबका अध्यक्ष बिष्णु प्रसाद पराजुलीले प्रतियोगिता सम्पन्न सबैको साथ र सहयोगका लागि धन्यवाद र आभार प्रकट गरे । उनले प्रतियोगिता आगामी संस्करणमा थप भव्यताका साथ आयोजना गर्ने उद्घोष समेत गरे ।

Post Comments