Province 5 दाङका खेलाडीहरुलाई पनि राहत
गोलनेपाल

घोराही । अखिल नेपाल फुटबल संघ (एन्फा) मातहतका विभिन्न जिल्ला फुटबल संघहरुले आफ्नो जिल्लाका खेलाडीहरुलाई राहत दिने कामलाई निरन्तरता दिएका छन् ।

यसैबीच दाङ जिल्ला फुटबल संघले पनि बेलझुण्डी रंगशालामा एक कार्यक्रमको आयोजना गरि शनिबार जिल्लाका ३० फुटबल खेलाडीहरुलाई राहत वितरण गरेको छ ।

फुटबल संघमा आवद्ध १० क्लबका कुल ३० खेलाडीहरुलाई जनही २५०० का दरले राहत वितरण गरिएको दाङ जिल्ला फुटबल संघले जनाएको छ ।

स्मरण रहोस, केन्द्रिय एन्फाले फिफाबाट प्राप्त कोभिड–१९ कै राहत रकम आफू मातहतका जिल्ला फुटबल संघहरुलाई जनही ७५–७५ हजारका दरले उपलब्ध गराएको थियो ।

कोरोना भाइरस महामारीका कारण हाल विश्वजगत नै आक्रान्त छ । यसले खेलकुदलाई पनि नराम्रो असर पारिरहेको छ । यसकै कारण कतिपय खेलाडी, रेफ्री, स्टाफहरु पनि बेरोजगारी अवस्थामा छन् ।

त्यसैलाई ध्यानमा राख्दै फिफाले आफू मातहतका सदस्य राष्ट्रहरुलाई कोभिड–१९ राहत रकम उपलब्ध गराएको थियो । र यस्ता कार्यलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने बताएको छ ।

 

Post Comments