Province 7 सुदूरपश्चिम प्रदेशव्यापी यू–१६ विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता : चौथो दिन चार खेल सम्पन्न
गोलनेपाल

बर्दगोरिया, कैलाली । सुदूरपश्चिम प्रदेशव्यापी यू–१६ विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता २०८३ अन्तर्गत चौथो दिन चार खेल सम्पन्न भएका छन् ।

कोटागढी खेलमैदानमा भएको पहिलो खेलमा गणेश बाबा इङ्लिस बोर्डिङ स्कुल र माउन्ट सैपाल एकेडेमी, टीकापुरबीच निर्धारित समय १–१ गोलको बराबरी भएपछि टाइब्रेकरमा गणेश बाबा २–१ ले विजयी भयो। जितसँगै गणेश बाबा प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ। गणेश बाबाका गोलरक्षक आयुष धामी प्लेयर अफ द म्याच घोषित भए।

दोस्रो खेलमा सन्त निरङ्कारी आदर्श विद्या मन्दिर, टीकापुरले एरिस्टो इङ्लिस हाई स्कुललाई २–१ गोलले पराजित गर्‍यो। सन्त निरङ्कारीका लागि समीर केसी र योगेश थापा मगरले गोल गरे। कप्तान सुसान खड्का प्लेयर अफ द म्याच बने।

तेस्रो खेलमा राष्ट्रिय माध्यमिक विद्यालय, घोडाघोडीले चैतन्य पाठशालालाई २–० ले हरायो। राष्ट्रिय माविले आत्मघाती गोलमार्फत अग्रता लिएको थियो भने विकास मल्लले दोस्रो गोल गरे। राष्ट्रिय माविका कप्तान निरज बुढा प्लेयर अफ द म्याच घोषित भए।

चौथो खेलमा कर्णाली माध्यमिक विद्यालय, सत्तिले कैलाली गुरुकुललाई ३–१ गोलले पराजित गर्‍यो। कर्णालीका लागि दिनेश ढुंगाना, योगेश साउद र कप्तान चरण ठकुल्लाले गोल गरे। कैलाली गुरुकुलका दीपक बुढा मगरले एक गोल फर्काए। कर्णालीका कप्तान चरण ठकुल्ला प्लेयर अफ द म्याच बने।

बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा मंसिर ४ गतेदेखि कोटागढी खेलमैदानमा भइरहेको प्रतियोगिताको फाइनल मंसिर १३ गते हुनेछ। प्रतियोगिताको विजेताले १ लाख २१ हजार र उपविजेताले ६१ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

उत्कृष्ट खेलाडीलाई १५ हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ। फेयर प्ले अवार्डको राशि ५ हजार र प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १ हजार रुपैयाँ रहेको छ। प्रतियोगिताका सम्पूर्ण खेलहरू गोलनेपाल डटकमको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण भइरहेका छन्।

Post Comments