Province 7 ग्रासरुटस गल्र्स फुटबल फेस्टिवलले ल्याएको उत्साह (फोटो फिचर्स)
गोलनेपाल

कटासे । चीनको वुहान शहरबाट गत बर्षको डिसेम्बरमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारीको बिकराल परिस्थतिमा अहिले विश्व समुदाय ग्रस्त र आक्रान्त छ । नेपाल सरकारले देशव्यापी लकडाउनसँगै आन्तरिक र बाहिरी गतिविधी सबैमा रोक लगायो । सरकारको यो निर्णयले सबैभन्दा बढी मारमा पर्यटन, शिक्षा, मनोरञ्जन र खेलजगत पर्न पुग्यो ।

महामारीले धेरैको दैनिकी जिवन नै कठिन बनाईदियो । आम मानिसहरुको मानसिक अवस्थालाई विचलित बनाउने काम यो महामारीले गर्यो । यो अवस्थामा साना बालबालिकाहरु पनि नराम्ररी प्रभावित भए । विद्यालय जानबाट बञ्चित भएका ती स–साना बालबालिकाहरु अध्ययनसँगै साथीभाईसँगको भेटघाट र रमाइलो गर्नबाट पनि बञ्चित हुन पुगे ।

दश महिना अघि सरकारले लकडाउन लगाए यता अहिले मुश्किलले राष्ट्रिय र स्थानीय खेलकुद गतिविधीहरु भईरहेका छन् । भईरहेका केही खेलकुद गतिविधीहरु पनि भर्चुअल रुपमै सिमित छन् । केही हदसम्म स्थानीय स्तरमा फुटबल प्रतियोगिताहरु भने हुन थालेका छन् । तर प्रशासन पर्ख र हेरको अवस्थामा छ ।

तर यी तमाम कुराहरुका बीच कैलालीको कटासेमा भने ग्रासरुटस गल्र्स फुटबल फेस्टिवलले उत्साह थपिदिएको छ । कैलालीका साना बालिकाहरुलाई कोभिड–१९ को त्रासबाट बाहिर निस्किएर फुटबलमा रमाउने अवसर जुराईदियो यो फेस्टिवलले ।

एसियाली फुटबल महासंघ (एएफसी) र अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको सहकार्यमा रारा फाउण्डेशनले आयोजना गरेको गल्र्स फुटबल फेस्टिवलमा कुल ३५० बालिकाहरुले सहभागिता जनाए र फुटबलमा रमाए ।

स्वयंसेवी प्रशिक्षक प्रशिक्षण कार्याशाला पनि आयोजना

ग्रासरुटस गल्र्स फुटबल फेस्टिवल कै अवसरमा ग्रासरुटस फुटबल स्वयंसेवी प्रशिक्षण कार्यशाला पनि आयोजना गरिएको थियो । बालबालिकाहरुलाई नियमित फुटबल प्रशिक्षण दिन र उनीहरुलाई फुटबलको सही ज्ञान दिलाउन सो स्वयंसेवी प्रशिक्षक प्रशिक्षण कार्यशालाको आयोजना गरिएको फाउण्डेशनले जानकारी दियो ।

एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहद्वारा सञ्चालित सो कार्याशालामा ३५ स्वयंसेवी प्रशिक्षकहरुले सहभागिता जनाउँदै फुटबल प्रशिक्षण सम्बन्धी आधारभुत र महत्वपूर्ण ज्ञानहरु हासिल गरेका थिए ।

रारा फाउण्डेशनका अध्यक्ष भोजराजका अनुसार फुटबल प्रशिक्षण कार्यक्रमसँगै फाउण्डेशनको उद्देश्य महिला सशक्तिकरण पनि रहेको बताए । साथै उनले फुटबल कै माध्यमबाट स्थानीय पर्यटन प्रवद्र्धनमा लाग्ने आफूहरुको लक्ष्य रहेको समेत खुलाए ।

स्मरणीय छ, सो फुटबल फेस्टिवलको उद्घाटन राखेपका सदस्य सचिव रमेश सिलवाल, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, जानकी गाउँपालिकाका अध्यक्ष प्रदिप कुमार चौधरी र रारा फाउण्डेशनका अध्यक्ष भोजराज भाटले संयुक्त रुपमा गरेका थिए ।

 

 

 

 

Post Comments