South Asia फिफाको प्रतिवन्धले भारतीय फुटबललाई ठूलो झट्का
गोलनेपाल

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको जनाउँदै अल इण्डिया फुटबल फेडरेशन (एआइएफएफ) लाई कुनै पनि फुटबल गतिविधि गर्न नपाउने गरि अनिश्चितकालका लागि प्रतिवन्ध लगाएको छ । यो प्रतिवन्धले भारतीय फुटबललाई भने ठूलो झट्का लागेको छ ।

भारतमाथि लागेको यो प्रतिवन्धसँगै उसले यसै वर्ष आयोजना गर्ने जिम्मा पाएको प्रतिष्ठित फिफा यु–१७ महिला विश्वकपको आयोजना अधिकार पनि खोसिएको छ । त्यति मात्र नभएर आगामी वर्ष हुने एएफसी एसियन कपमा छनौट भएर पनि खेल्न नपाउने भएको छ । एसियन कपमा अब भारतको स्थानमा फिलिपिन्सले सहभागिता जनाउने सम्भावना छ ।

त्यति मात्र नभएर भारतले केही महिनापछि सिंगापुर र भियतनामसँग् खेल्ने भनिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच पनि खेल्न नपाउने भएको छ । त्यस्तै भारतीय फुटबलको मेरुदण्ड मानिने आई लिग, इण्डियन सुपर लिग (आएसएल) जस्ता प्रतिष्ठित घरेलु प्रतियोगिताहरुको भविष्य पनि अनिश्चित बनेको छ ।

स्मरण रहोस, भारतले केही साता अघि मात्र घरमै सम्पन्न साफ यु–२० च्याम्पियनसिपको उपाधि जितेको थियो । साथै अर्को महिना हुने महिला साफ च्याम्पियनसिपको तयारीमा समेत थियो ।

त्यसैगरी भारतीय फुटबल क्लबहरुले एएफसी र फिफा मातहत आयोजना हुने अन्तर्राष्ट्रिय क्लब फुटबलमा पनि सहभागिता जनाउन नपाउने निश्चित भएको छ ।

यद्यपि सम्बन्धित निकायले फिफाको प्रतिवन्धबारे आवश्यक छलफल र निकासका लागि जतिसक्दो चाडो निर्णय लिनुपर्ने धेरैको बुझाई छ ।

Post Comments