काठमाडौं । शुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसकेको नेपालको लिग च्याम्पियन चर्च ब्वाईज युनाइटेड एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक चरणबाटै बाहिरिएको छ ।
मंगलबार घरेलु मैदान र घरेलु समर्थकहरुको बाक्लो उपस्थितिका बावजुद चर्च ब्वाईजले भुटानी लिग च्याम्पियन पारो फुटबल क्लबसँग १–२ को हार बेहोर्दै प्रारम्भिक चरणको छनौट खेलबाटै बाहिरिएको छ ।
खेल शुरु हुनु अघि वर्षाले बिथोलिएको दशरथ रंगशालाको मैदानमा ३८औं मिनटमा लाकेन लिम्बुले बक्स नजिकैबाट वान टचमा गोल गर्दै चर्च ब्वाईजलाई खेलमा अग्रता दिलाएका थिए ।
तर घरेलु टोलीले त्यो अग्रता धेरैबेर कायम राख्न सकेन । लगतै ४०औं मिनटमा किंगा वाङचुकले पारोका लागि बराबरी गोल फर्काएका थिए । चर्च ब्वाईजका गोलरक्षक दिप कार्कीले नियन्त्रणमा लिन नसकेको बललाई वाङचुकले गोलपोष्टको जाली चुमाएका थिए ।
पहिलो हाफ १–१ को बराबरीमा टुंगिए तापनि खेलको ६७औं मिनटमा विलियम ओपोकुले पारोका लागि दोस्रो तथा निर्णायक गोल गर्दै पाहुना टोलीको रोमाञ्चक जित पक्का गरेका थिए ।
खेलमा चर्च ब्वाईजले पनि केही अवसर खेर फाल्न पुग्यो । मोसेज टुमले गरेको दुई–तीन गोल प्रयास सफल नहुँदा नसक्दा घरेलु टोली र समर्थक चुकचुकाउनु परेको थियो ।
जापानी सुपरस्टार केइसुके होण्डाको कप्तानीमा उत्रिएको पारोले पनि पाएको केही अवसरहरुलाई सदुपयोग गर्न सकेन । पारोले अब आगामी अक्टुबर अन्तिम सातादेखि शुरु हुने एएफसी च्यालेञ्ज लिगको समूह चरणमा प्रतिस्पर्धा गर्नेछ ।
पराजित चर्च ब्वाईजको भने पहिलोपटक एसियाली क्लब च्याम्पियनसिप खेल्ने सपना समाप्त भएको छ ।