AFC/FIFA एएफसीद्वारा मलेसियालाई कारवाही, नेपालले पायो जित र तीन अंक
गोलनेपाल

काठमाडौं । एएफसी एसियन कप २०२७ को तेस्रो चरणको छनौट प्रतियोगितातर्फ खेल्न अयोग्य रहेका खेलाडीहरु खेलाएको भन्दै एसियाली फुटबल महासंघ (एएफसी) ले मलेसिया फुटबल संघलाई कारवाही गरेको छ ।

मलेसियाले अयोग्य खेलाडीहरु खेलाएको भन्दै यसअघि नै एएफसीको छानबिनमा परेको थियो । अहिले आएर मलेसियाले एएफसीको अनुशासन तथा आचारसंहितको धारा ५६ उल्लघंन गरेको आरोपमा कारवाहीमा परेको हो ।

यो कारवाहीसँगै मलेसियाले गत वर्षको मार्च २५ तारीखका दिन नेपालसँग र १० जुनका दिन भियतनामसँग हात पारेको जितको नतिजा पनि गुमाउन पुगेको छ । त्यतिबेला मलेसियाले नेपाललाई २–० ले र भियतनामलाई ४–० ले हराएको थियो ।

अब एएफसीको कारवाहीमा परेपछि दुवै खेलको नतिजा मलेसियाले ३–० को अन्तरले विपक्षीलाई सुम्पिनु परेको छ । त्यसबाहेक एएफसीले मलेसियालाई ५० हजार डलर जरिवाना पनि गरेको छ । साथै उक्त जरिवाना ३० दिनभित्र बुझाउन आदेश पनि दिइएको छ ।

अब यो निर्णयसँगै एएफसी एसियन कप छनौटतर्फ समूह एफमा नेपालले पनि आफ्नो खातामा तीन अंक जोडेको छ । साथै यो निर्णयपछि ५ खेलबाट १५ अंक जोडेको भियतनाम एक खेल अगावै अर्को वर्ष हुने एएफसी एसियन कपका लागि छनौट भएको छ ।

उता ९ अंकमा खस्किएको मलेसिया दोस्रो स्थानमा छ र समूह चरणबाटै बाहिरिएको छ । त्यस्तै ३–३ अंक जोडेका लाओस र नेपाल क्रमशः तेस्रो र चौथो स्थानमा छन् । समूह चरणको अन्तिम खेलमा अब आउँदो मार्च ३१ तारीखका दिन नेपालले लाओससँग र भियतनामले मलेसियासँग खेल्ने कार्यक्रम रहेको छ ।

Post Comments