काठमाडौं (एजेन्सी) । अष्ट्रेलियामा जारी एएफसी महिला एसियन कप फुटबल प्रतियोगिताको क्वाटरफाइनल मै पराजित हुन पुगेका दुई टोली फिलिपिन्स र उत्तर कोरियाले पनि अर्को वर्ष ब्राजीलमा हुने फिफा महिला विश्वकपका लागि स्थान बनाएका छन् ।
बिहीबार सम्पन्न भएका दुई प्ले अफ म्याचतर्फ फिलिपिन्सले उज्वेकिस्तानलाई २–० ले हरायो भने उत्तर कोरियाले चाइनिज ताइपेईलाई ४–० ले हराउँदै फिफा महिला विश्वकपको टिकट काट्न सफल भयो । हारका बावजुद उज्वेकिस्तान र चाइनिज ताइपेईको फिफा विश्वकप खेल्ने सम्भावना कायम छ । यी दुवै टोलीले अब नोभेम्बर–डिसेम्बरमा हुने इन्टरकन्टिनेन्टल प्ले अफमा प्रतिस्पर्धा गर्नेछन् । उक्त प्ले अफ म्याचबाट तीन टोलीहरुले फिफा विश्वकपमा स्थान बनाउने छन् ।
त्यसो त फिफा महिला विश्वकपमा एसियाबाट सोझै छनौट हुने ६ टोलीहरुको टुंगो लागेको छ । जसमा जारी एएफसी महिला एसियन कपतर्फ सेमिफाइनल पुगेका चार टोलीहरु अष्ट्रेलिया, चीन, जापान र दक्षिण कोरियाले यसअघि नै विश्वकपको टिकट काटिसकेका छन्े ।