AFC/FIFA बंगलादेशसँग पनि हार्यो नेपाल
गोलनेपाल

काठमाडौं । बहराईनमा जारी एएफसी यु–२० एसियन कप छनौटमा नेपालले खराब प्रदर्शन गर्दै समूह चरणबाट बाहिरिएको छ । समूह बी मा रहेको नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग ३–० ले पराजित भयो ।

बहराईनी शहर अरद स्थित अल मुहरक स्टेडियममा सम्पन्न खेल शुरु भएको छैठौं मिनट मै मोहमद मोजिबोर जोनीले बंगलादेशका लागि पहिलो गोल गरेका थिए । त्यसको चार मिनट लगतै मोहमद पियास नोवाले त्यो अग्रता दोब्बर पारे ।

नेपाल पहिलो हाफ मै ९ खेलाडीमा सिमित हुन पुगेको थियो । अजय चौधरी र कप्तान आयुष घलानले रातो कार्ड खाँदै मैदान छाडेपछि नेपाल थप दबाबमा परेको थियो । उता बंगलादेशका लागि भने अजिजुल अनन्तोले रातो कार्डको सामना गरेका थिए । त्यस्तै दोस्रो हाफको ५२औं मिनटमा साजेद हसनले तेस्रो गोल थपे जुन खेलको अन्तिम गोल पनि बन्यो ।

समूह बी मा नेपालले एउटै खेल नतिजी अंकविहीन रुपमा पुछारमा रहेर प्रतियोगिताबाट बाहिरियो । जितका बावजुद ७ अंक जोडेको बंगलादेश पनि समूह चरणबाटै बाहिरिएको छ । सोही समूहमा रहेको अर्को दक्षिण एसियाली टोली भुटानले ३ अंक जोड्दै प्रतियोगिताको समापन गर्यो ।

समूह बी को अन्तिम खेलमा आइतबार अबेर राती आयोजक बहराईन र कतार भिड्दै छन् । यी दुई टोली बीचको खेलको नतिजाले समूह बी बाट फाइनल चरणमा पुग्ने एक टोलीको टुंगो लाग्नेछ । त्यस्तै उत्कृष्ट उपविजेता बन्ने टोलीको सम्भावना पनि कायम रहनेछ ।

 

Post Comments