AFC/FIFA यु–२० विश्वकपः नकआउट चरणमा अर्जेन्टिना
गोलनेपाल

काठमाडौं (एजेन्सी) । जारी फिफा यु–२० विश्वकपको आयोजक राष्ट्र समेत रहेको अर्जेन्टिना लगातार दोस्रो जितका साथ समूह ए बाट नकआउट चरणमा प्रवेश गरेको छ । आफ्नो पहिलो खेलमा एसियाली राष्ट्र उज्वेकिस्तानलाई २–१ ले हराएको अर्जेन्टिनाले मंगलबार अबेर राती सम्पन्न आफ्नो दोस्रो खेलमा ग्वाटेमालालाई ३–० ले पराजित गर्यो ।

यो नतिजापछि २ खेलबाट ६ अंक जोडेको अर्जेन्टिना एक खेल अगावै नकआउट चरणमा प्रवेश गरेको छ । अर्जेन्टिनाले समूह चरणको अन्तिम खेलमा न्युजल्याण्डको सामना गर्नेछ । त्यस्तै समूह ए कै अर्को खेलमा न्युजिल्याण्ड र उज्वेकिस्तानले २–२ गोलको बराबरी खेले ।

यो नतिजापछि ४ अंकका साथ न्युजिल्याण्ड दोस्रो स्थानमा छ भने १ अंकका साथ उज्वेकिस्तान तेस्रो स्थानमा छ । साथै नकआउट चरणमा पुग्ने दुवै टोलीको सम्भावना कायम छ । त्यसैगरी पुछारमा रहेको ग्वाटेमाला अंकविहीन छ ।

समूह बी बाट अमेरिकाको सम्भावना बलियो

त्यसैगरी समूह बी बाट अमेरिकाले लगातार दोस्रो जित हात पार्दै नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । मंगलबार राती नै सम्पन्न आफ्नो दोस्रो खेलमा अमेरिकाले फिजीमाथि ३–० को जित निकाल्यो । यसअघि अमेरिकी टोलीले आफ्नो पहिलो खेलमा इक्वेडरलाई १–० ले हराएको थियो ।

त्यस्तै सोही समूहको अर्को खेलमा इक्वेडरले स्लोभाकियालाई २–१ ले हरायो । स्मरण रहोस, स्लोभाकियाले आफ्नो पहिलो खेलमा फिजीलाई ४–० ले हराएको थियो । यो नतिजापछि २ खेलबाट ६ अंक जोडेको अमेरिका शिर्ष स्थानमा छ र अन्तिम खेलमा स्लोभाकियासँग बराबरी खेले पनि नकआउट चरणमा पुग्नेछ ।

३–३ अंक जोडेका स्लोभाकिया र इक्वेडर क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । साथै यी दुवै टोलीको पनि नकआउट चरणमा पुग्ने सम्भावना कायम छ । उता अंकविहीन फिजी भने समूहको पुछारमा छ ।

Post Comments