AFC/FIFA कोलोम्बिया र नाइजेरिया नकआउट चरणमा, जापान, ब्राजील र इटालीको सम्भावना कायमै
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा यु–२० विश्वकपको समूह सी बाट दक्षिण अमेरिकी राष्ट्र कोलोम्बिया नकआउट चरणमा प्रवेश गरेको छ । पहिलो खेलमा इजरायललाई २–१ ले हराएको कोलोम्बियाले बुधबार राती एसियाली राष्ट्र जापानमाथि पनि समान २–१ को जित निकाल्यो ।

समूह सी कै अर्को खेलमा सेनेगल र इजरायलले १–१ गोलको बराबरी खेले । स्मरण रहोस, पहिलो खेलमा सेनेगलले जापानसँग १–० को हार बेहोरेको थियो । बुधबारको नतिजापछि २ खेलबाट ६ अंक जोडेको कोलोम्बिया एक खेल अगावै नकआउट चरणमा प्रवेश गरेको छ । ३ अंकका साथ दोस्रो स्थानमा रहेको जापानको पनि नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कायम छ ।

त्यस्तै १–१ अंक जोडेका इजरायल र सेनेगलको पनि नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कायम नै छ । समूह चरणको अन्तिम खेलमा कोलोम्बियाले सेनेगलसँग खेल्नेछ भने जापानले इजरायलको सामना गर्नेछ ।

ब्राजीलको शानदार जित, इटाली स्तब्ध

त्यस्तै समूह डी तर्फ आफ्नो पहिलो खेलमा इटालीसँग २–३ ले पराजित हुन पुगेको ब्राजीलले बुधबार राती डोमिनिकन रिपब्लिकमाथि ६–० को फराकिलो जित निकाल्यो । यो हारले पहिलो खेलमा नाइजेरियासँग २–१ ले पराजित डोमिनिकन रिपब्लिकको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना लगभग समाप्त भएको छ ।

समूह डी कै अर्को खेलमा नाइजेरियाले इटालीमाथि २–० को जित निकाल्यो । लगातार दुई जित हात पारेको नाइजेरिया समूह डी को शिर्ष स्थानमा छ र नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा नाइजेरियाले ब्राजीलसँग खेल्नेछ ।

३–३ अंक जोडेका ब्राजील र इटाली क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । यी दुवै टोलीको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कायम छ । त्यस्तै अंकविहीन डोमिनिकन रिपब्लिक भने पुछारमा छ । समूह चरणको अर्को अन्तिम खेलमा इटाली र डोमिनिकन रिपब्लिक भिड्ने कार्यक्रम छ ।

Post Comments