ANFA गाईघाट एफसी कोशी प्रदेश स्तरीय फुटबलको च्याम्पियन
गोलनेपाल

बेलबारी । मोरङको बेलबारीमा सम्पन्न प्रथम कोशी प्रदेश स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिताको उपाधि गाईघाट फुटबल क्लब उदयपुरले जितेको छ। आइतबार बेलबारी नगरपालिका–३ स्थित प्रस्तावित बेलबारी रङ्गशालामा भएको फाइनलमा चन्द्रगढि युथ क्लब झापालाई २–१ गोलले पराजित गर्दै गाईघाट च्याम्पियन बनेको हो।

खेलको पहिलो हाफमा चन्द्रगढि युथ क्लबले अग्रता बनाएको थियो। प्रदीप भट्टराईले उत्कृष्ट हेडमार्फत गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। पहिलो हाफमा अग्रता जोगाएको चन्द्रगढिदोस्रो हाफमा भने दबाब थेग्न असफल भयो।

दोस्रो हाफमा गाईघाटले पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै सुदीप श्रेष्ठले बराबरी गोल फर्काए। त्यसको केही मिनेटपछि निष्कुमार श्रेष्ठले निर्णायक गोल गर्दै गाईघाटलाई २–१ को रोमाञ्चक पुनरागमन जित दिलाए।

दोस्रो हाफमा चन्द्रगढिले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन। विशेषगरी सौरभ सुबाले पाएका अवसर खेर जाँदा चन्द्रगढ खेलमा फर्किन असफल रह्यो र उपविजेतामै सीमित बन्न बाध्य भयो। फाइनल खेलको प्लेयर अफ द म्याच गाईघाटका निष्कुमार श्रेष्ठ घोषित भए।

प्रतियोगिताका व्यक्तिगत विधातर्फ बेस्ट कोच किरण कार्की, बेस्ट गोलकिपर निङछिङ शेर्पा, राइजिङ प्लेयर युगन हमाल, बेस्ट डिफेन्डर एनोज मगर, बेस्ट मिडफिल्डर असिम राई, बेस्ट फरवार्ड प्रदीप भट्टराई तथा प्रतियोगिताका सर्वाधिक गोलकर्ता असिम राई घोषित भए। असिमले प्रतियोगिताभर चार गोल गरेका थिए। त्यस्तै, प्लेयर अफ द टुर्नामेन्टको पुरस्कार गाईघाटका सुदीप श्रेष्ठले जिते।

Post Comments