News आयोजक फुङनामलाई प्रथम फुङनाम गोल्डकपको उपाधि
गोलनेपाल

चुलाचुली । प्रतिस्पर्धात्मक जितका साथ यहाँ सम्पन्न प्रथम फुङनाम गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक फुङनाम स्र्पोटिङ क्लबले जितेको छ ।

शुक्रबार सम्पन्न फाइनलमा फुङनामले युनियक युवा क्लब, साक्फारालाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधि उचाल्न सफल भएको हो । त्यसअघि निर्धारित समयको रोमाञ्चक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ युनिकका लागि अनुप राईले शुरुवाती गोल गर्दै टोलीलाई अग्रता दिलाए तापनि आयोजक फुङनामका लागि रोशन आचार्यले बराबरी गोल फर्काएका थिए । पेनाल्टी शुटआउटमा भने फुङनाम ४–२ ले विजयी बन्यो ।

विजेता बनेको फुङनामले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्दा उपविजेता युनिक युवा क्लबले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । फुङनामका सन्दिप लिङदेन फाइनल खेलको म्यान अफ दि म्याच उत्कृष्ट गोलरक्षक बने ।

अन्य विधागततर्फ उत्कृष्ट डिफेन्डर युनिकका रोनिस राई बन्दा उत्कृष्ट मिडफिल्डर फुङनामका उमेश कार्की चुनिए । उत्कृष्ट फरवार्ड युनिकका ओशन राई बन्दा उदियमान खेलाडी फुङनामका अनिल राई बने । सर्वाधिक गोलकर्ताको पुरस्कार पनि फुङनामका अनुप मगरले हात पारे ।

उत्कृष्ट प्रशिक्षकको पुरस्कार फुङनामका बिष्णु श्रेष्ठले हात पारे । त्यस्तै प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी फुङनामका रोशन आचार्य घोषित भए । फुङनाम स्र्पोटिङ क्लब, चुलाचुली–६, फुङनाम, इलामको आयोजनामा सम्पन्न प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments