झापा । अर्जुनधारा नगरपालिका, नगर खेलकुद विकास समितिले पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी देवेन्द्र तामाङलाई हिजो सोमबार एक विशेष समारोहका बीच सम्मान गरेको छ। फुटबल खेलको माध्यमबाट खेलकुद क्षेत्रको विकास, प्रवर्द्धन र नगरको प्रतिष्ठा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरसम्म पुर्याउन उल्लेखनीय योगदान दिएको भन्दै उनलाई सम्मान गरिएको हो।
‘स्वस्थ युवा, अनुशासित र समुन्नत समाज निर्माणको आधार’ भन्ने मूल नारालाई सार्थक तुल्याउँदै तामाङले खेल क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गरिएको छ। अर्जुनधारा नगरपालिका नगर खेलकुद विकास समिति, शनिश्चरेले प्रदान गरेको सम्मान पत्रमा भनिएको छ ।
समितिले तामाङको योगदानले खेलकुदको विकास मात्र नभई युवा पुस्तामा सकारात्मक ऊर्जा, अनुशासन र राष्ट्रप्रेमको भावना अभिवृद्धि गर्न ठूलो सघाउ पुर्याएको उल्लेख गरेको छ।
सम्मान ग्रहण गरेपछि खुसी व्यक्त गर्दै पूर्व राष्ट्रिय खेलाडी तामाङले यस सम्मानले आफूलाई खुसी तुल्याएको र नयाँ पुस्तालाई खेलकुदमा डोर्याउन थप जिम्मेवारी महसुस गराएको बताए।
नगर खेलकुद विकास समितिले तामाङको आगामी सुखद भविष्यको कामना गर्दै आगामी दिनमा पनि राष्ट्र र नगरको गौरवलाई थप उचाइमा पुर्याउन उनको भूमिका रहने विश्वासका साथ हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।