Province 1 सडन डेथमा चारपानेलाई हराउँदै दमक भेट्रान्स फाइनलमा
गोलनेपाल

मोरङ, कानेपोखरी। अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो जाहादा भेट्रान्स कप २०८३ अन्तर्गत आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा चारपाने युनाइटेड भेट्रान्स क्लब झापालाई सडन डेथमा पराजित गर्दै दमक भेट्रान्स फाइनलमा प्रवेश गरेको छ।

जाहादा खेलमैदानमा सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा चारपाने युनाइटेड भेट्रान्सले पेनाल्टीमार्फत अग्रता बनाएको थियो। बक्सभित्र ह्यान्डबल भएपछि प्राप्त पेनाल्टीमा मिलन राईले उत्कृष्ट फिनिस गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए।

पहिलो हाफमा अग्रता बनाएको चारपानेले दोस्रो हाफमा पनि राम्रो प्रदर्शन गरेको थियो। तर, निर्धारित समयको अन्तिम मिनेटमा दमक भेट्रान्सले नाटकीय रूपमा खेलमा पुनरागमन गर्‍यो। सुजन राईले उत्कृष्ट हेडरमार्फत गोल गर्दै दमकलाई १–१ को बराबरीमा पुर्‍याए।

निर्धारित समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। पेनाल्टी सुटआउटमा दुवै टोलीले पाँच–पाँच प्रहारमध्ये चार–चार गोल गरेपछि खेल सडन डेथमा पुगेको थियो। सडन डेथमा दमक भेट्रान्सले बाजी मार्दै फाइनलमा स्थान सुरक्षित गर्‍यो।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका दमकका गोलरक्षक चम्पक केसी प्लेयर अफ द म्याच घोषित भए।

प्रतियोगिताको फाइनल खेल असोज ३१ गते दमक भेट्रान्स र जाहादा भेट्रान्सबीच हुनेछ। प्रतियोगिताको विजेताले नगद दुई लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले एक लाख रुपैयाँ पाउनेछ। साथै, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार प्रदान गरिनेछ।

Post Comments