News
दीपशिखा ब्वाइज युनाइटेड लगातार दोस्रो पटक रामेछाप कप च्याम्पियन
रामेछाप । आयोजक दीपशिखा ब्वाइज युनाइटेड क्लबले चौथो रामेछाप कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा न्यू स्टार युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै दीपशिखाले उपाधि रक्षा गरेको हो ।
दीपशिखाको जितमा सृजन राज गौतमले निर्णायक गोल गरे । उनी फाइनल खेलको म्यान अफ द म्याच समेत घोषित भए ।
यसअघि तेस्रो रामेछाप कपको उपाधि पनि जितेको दीपशिखाले चौथो संस्करणमा समेत च्याम्पियन बन्दै लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको छ ।
उपाधिसँगै दीपशिखाले नगद ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्यो भने उपविजेता न्यू स्टार युथ क्लबले १ लाख ५१ हजार १ सय ११ रुपैयाँमा चित्त बुझायो ।
प्रतियोगितामा दीपशिखाका रेम्बो चौधरी उत्कृष्ट गोलकिपर घोषित भए । न्यू स्टारका सुदर्शन श्रेष्ठ उत्कृष्ट डिफेन्डर चुनिँदा रिभरसाइडका सुदीप मगर सर्वाधिक गोलकर्ता बने ।
त्यस्तै, आयोजक दीपशिखाका दीपेश कार्की उत्कृष्ट प्रशिक्षक र सबिन खड्का उत्कृष्ट खेलाडी घोषित भए । विधागत उत्कृष्टले जनही ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्दा म्यान अफ द म्याच सृजन राज गौतमले २ हजार रुपैयाँ पाए ।
Post Comments