बुद्ध र आयोजक जागृति फाइनलमा भिड्ने
सुरज राना मगर

सखुवानी । रुपन्देहीको तिलोत्तमा नगरमा जारी दोस्रो जागृति कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको फाइनलमा बुद्ध एफसी, भैरहवा र आयोजक जागृति क्लब सखुवानी, तिलोत्तमा भिड्ने भएका छन् ।

शनिबार सम्पन्न भएका दुई सेमिफाइनलहरु मध्ये पहिलो सेमिफाइनलमा बुद्धले चरी फरर क्लब, सुपौलीलाई सडन डेथमा ५–४ ले हराउँदै फाइनल स्थान पक्का गर्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा बुद्धका गोलरक्षक निशान राना प्लेयर अफ द म्याच बने ।

त्यस्तै शनिबार नै सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक जागृतिले ओमसतिया–१ एफसी, ओमसतियामाथि ५–० को प्रभावशाली जित निकाल्दै फाइनल स्थान सुरक्षित गर्यो । खेलमा जागृतिका बिजन मगर प्लेयर अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत कार्तिक २ गते सोमबार हुने फाइनलमा बुद्ध एफसी र जागृति क्लब उपाधिका लागि प्रतिस्पर्धा गर्ने कार्यक्रम व्यवस्थापक झक गुरुङले जानकारी दिए ।

जागृति क्लब सखुवानी, तिलोत्तमा–१५, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले २६ हजार प्राप्त गर्नेछ ।

Post Comments