बुटवल । रुपन्देहीमा जारी दोस्रो जी ट्वान्टी फाईभ कप बुटवल उपमहानगर वार्डस्तरीय फुटबल प्रतियोगिता अन्तर्गत सोमबार बेलुका सम्पन्न दुई खेलहरुमा वार्ड नम्बर ४ र १३ ले जित हात पारेका छन् ।
एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा वार्ड नम्बर ४ ले वार्ड नम्बर ६ लाई २–० ले हरायो । वार्ड नम्बर ४ को जितमा अशोक सेन र दिनेश बजिमयले गोल गरे । खेलमा वार्ड नम्बर ४ कै गोलरक्षक लक्ष्मण गौतम प्लेयर अफ द म्याच बने ।
त्यस्तै दोस्रो खेलमा वार्ड नम्बर १३ ले वार्ड नम्बर ८ माथि १–० को झिनो जित निकाल्यो । वार्ड नम्बर १३ का लागि रक्ष गुरुङले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता वार्ड नम्बर १३ का रक्ष गुरुङ नै प्लेयर अफ द म्याच बने ।
प्रतियोगिता अन्तर्गत असोज २७ गते मंगलबार पनि बिहान दुई र बेलुका दुई गरी कुल चार क्वाटरफाइनल खेलहरु हुने खेल संयोजक रमेश जोशीले जानकारी दिए ।
जी ट्वान्टी फाईभ क्लब, बुटवल, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही असोज ३० गतेका दिन हुनेछ ।