ANFA सातदोबाटोको अपराजित यात्रा र शिर्षता कायमै
गोलनेपाल

काठमाडौं । शहिद स्मारक बी डिभिजन लिगतर्फ सोमबार लिगलिडर सातदोबाटो युथ क्लबले आफ्नो अपराजित यात्रा र शिर्षतालाई निरन्तरता दिएको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा सातदोबाटोले श्री भगवती क्लब विरुद्ध १–० को साँघुरो जित हात पार्यो । सातदोबाटोको जितमा दोर्जे तामाङले पेनाल्टीबाट एक मात्र निर्णायक गोल गरे ।

दिनेश राईको प्रहार बक्स भित्र रहेका भगवतीका लक्ष्मण जिसीको हातमा लागेपछि सातदोबाटोले पेनाल्टीको अवसर पाएको थियो । जसलाई तामाङले सहजै गोलमा परिणत गरेका थिए ।

यो जितसँगै ८ खेलबाट अपराजित सातदोबाटोको २२ अंक छ र लिगतालिकाको शिर्ष स्थानमा छ । साथै दोस्रो स्थानको खुमलटार भन्दा स्पष्ट रुपमा ३ अंकले अगाडी समेत छ । उता पराजित श्री भगवती भने ६ अंकका साथ नवौं स्थानमा छ ।

आरसिटीको जितमा अजित निर्णायक

त्यस्तै सोमबार नै भएको अर्को खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी) ले टुसाल युथ क्लबमाथि १–० को साँघुरो जित निकाल्यो । आरसिटीको जितमा खेलको ७३औं मिनटमा अजित गुरुङले एक मात्र निर्णायक गोल गरे ।

यो जितपछि ८ खेलबाट १२ अंक जोडेको आरसिटी लिगतालिकाको पाँचौं स्थानमा छ । उता पराजित टुसाल भने ८ अंकका साथ सातौं स्थानमा रहेको छ ।

Post Comments