ANFA प्रशिक्षक हुमागाईंलाई कारवाही गर्न मञ्चको माग (पत्रसहित)
गोलनेपाल

काठमाडौं । खेल पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली फुटबल टोलीका अन्तरिम प्रशिक्षक प्रदिप हुमागाईंलाई कारवाही गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) सँग माग गरेको छ । मञ्चले ध्यानाकर्षण पत्र जारी गर्दै प्रशिक्षक हुमागाईलाई कारवाही गर्न माग गरेको हो ।

मञ्चका सचिव अन्जन खड्काद्वारा हस्ताक्षरित पत्रमा प्रशिक्षक हुमागाईंले यहि असोज ११ गते सम्पन्न नेपाल र बंगलादेशबीचको मैत्रीपुर्ण खेलपश्चात आयोजित पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिका कारण असन्तुष्टी पोखेको छ । मञ्चले हुमागाईंको अभिव्यक्तिलाई ‘गैरव्यवसायीक, गैरजिम्मेवारी र नितान्त निम्न सोंचको’ भन्दै आलोचना गरेको छ ।

स्मरण रहोस, प्रशिक्षक हुमागाईंले पत्रकार सम्मेलनमा मञ्चलाई आर्थिक सहयोग प्रदान गरेको बताएका थिए । यद्यपि मञ्चले यो कुराको खण्डन गर्दै हुमागाईंबाट मञ्चले त्यस्तो कुनै सहयोग नलिएको स्पष्ट पारेको छ । मञ्चले प्रशिक्षक हुमागाईंको त्यो अभिव्यक्ति पदिय मर्यादा विपरित रहेको भन्दै आक्रोश समेत पोखेको छ ।

साथै मञ्चले प्रशिक्षक हुमागाईंले खेल पत्रकारहरुमाथि निराधारा आरोप लगाएको भन्दै असन्तुष्टी पनि जनाएको छ । ‘प्रशिक्षक हुमागाईंमा खेलभावनाको स्पष्ट अभाव रहेको र पत्रकार सम्मेलनका क्रममा कसरी प्रस्तुत हुनुपर्छ भन्ने सामान्य ज्ञानको पनि अभाव देखिएको जनाउन चाहन्छौं ।’ मञ्चले पत्रमा लेखेको छ ।

पत्रको अन्तिममा मञ्चले यस्तो घट्नाले एन्फा र आफूहरुबीचको सम्बन्धमा पनि असर पर्ने बताउँदै प्रशिक्षक हुमागाईंलाई आवश्यक कारहाही गर्न माग पनि गरेको छ ।

 

Post Comments