ANFA सेन्ट्रल कलेज रामपुरलाई माडी गोल्डकपको उपाधि
गोलनेपाल

बसन्तपुर । यहाँ सम्पन्न २४औं माडी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि सेन्ट्रल कलेज रामपुर फुटबल क्लबले जितेको छ । शनिबार भएको उपाधि भिडन्तमा रामपुरले केबिए ग्लोबल भरतपुर एफसीलाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधि उचाल्न सफल भएको हो ।

बसन्तपुर बजार स्थित खुला मैदानमा भएको फाइनल खेलमा रामपुरका लागि फोडे फोफनाले एक गोल गरे भने अर्को गोल भरतपुरका डिफेन्डर सुदान्स चौधरीले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए ।

विजेता बनेको रामपुरले उपाधिसहित नगद ३ लाख हात पार्यो भने उपविजेता भरतपुरले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भरतपुरका गणेश हमाल चुनिए । उनले पुरस्कार वापत नगद २० हजार र ट्रफी हात पारे ।

त्यस्तै अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक रामपुरका सरोज तामाङ घोषित भए । उत्कृष्ट डिफेन्डर माडी–११ का संजय रामदाम चुनिए भने उत्कृष्ट मिडफिल्डर रामपुरका जितेश गुरुङ्ग घोषित भए । उनीहरुले जनही १५–१५ हजारसहित ट्रफी हात पारे ।

सर्वाधिक गोलकर्ता बनेका रामपुरका फोडेले नगद १५ हजारसहित ट्रफी प्राप्त गरे । उदीयमान खेलाडी माडी–११ का सुमन महतो बने । उनले त्यसवापत नगद १२ हजार ५ सय प्राप्त गरे । फेयर प्ले टिम पनि घरेलु टोली माडी–११ बन्यो र पुरस्कार वापत १२ हजार ५ सय सहित ट्रफी हात पार्यो ।

उत्कृष्ट प्रशिक्षक विजेता टोली रामपुरका सिंह राज लामा घोषित भए । उनले त्यसवापत नगद ७ हजार र ट्रफी हात पारे । त्यस्तै सोही अवसरमा दिवाकर भुसाल स्मृति माडी वर्ष खेलाडीबाट माडी–११ विजय पराजुली पुरस्कृत भए । त्यसवापत उनले नगद १० हजार र ट्रफी हात पारे ।

बसन्तपुर युनाइटेड क्लब, माडी, चितवनको आयोजनामा माघ ७ गतेदेखि शुरु प्रतियोगितामा कुल ८ टोलीहरले सहभागिता जनाएका थिए ।

 

Post Comments