ANFA झापाः इलामलाई रोक्दै बेलबारी सेमिफाइनलमा
रमेश समदर्शी

बुधबारे । बेलबारी एफसी मोरङले यहाँ जारी तेस्रो आदर्श च्यालेञ्ज कपमा इलामको रेडहर्ष एफसीलाई सहजरुपमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ ।

आज भएको अन्तिम क्वाटरफाइनल खेलमा इलामलाई बेलबारी एफसीले २-० गोलले पराजित गर्दै सेमिफाइनलमा बिर्तामोड युुनाइटेडसँगको भेट पक्का गरेको छ । बेलबारीको जितसँगै सेमी समिकरण पूरा भएको छ ।

खेलको १४औं मिनेटमा विवेक पौडेलको क्रसपासमा प्रशान्त अवस्थीले बेलबारीलाई सुरुवाती अग्रता दिलाएका थिए । पेनाल्टी एरियाबाट उनले गरेको प्रहारलाई विपक्षी गोलरक्षकले बचाउ गर्न सकेनन् ।

खेलमा दोस्रो गोल पनि अवस्थीको नाममा रह्यो । ४३औं मिनेटमा सागर तिवारीले पेनाल्टी एरियामा दिएको हेडरलाई सदुपयोग गर्दै अवस्थीले सुुन्दर गोल गरेका थिए । अवस्थीको दुवै गोल दर्शनीय थियो ।

दुुई विदेशी खेलाडी मैदानमा उतारेको रेडहर्षले गोल गर्ने थुप्रै अवसर सिर्जना गरे पनि असफल भयो । इलामका खेलाडीको पटक पटकको प्रहार बेलबारीका गोलरक्षक पुर्ण चेम्जोङले बचाउ गरेका थिए ।

खेलको प्लेयर अफ द म्याच बेलबारीका दुुई गोल गर्ने खेलाडी प्रशान्त अवस्थी घोषित भए । उनले नगद तीन हजार रुपैयाँ पुरस्कार पाए । बुधबारको पहिलो सेमिफाइनल खेलमा आयोजक आदर्श युवा क्लबले भारतको मानेभन्ज्याङ एफसीको सामना गर्ने छ ।

प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख ट्रफी र मेडल पाउने छन् । फाइनल खेलका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

Post Comments