Gorkhalis Abroad प्रशिक्षक नरकुमार राईकी छोरीको उपचारमा नेपाल–जापान फुटबल संघको सहयोग
गोलनेपाल

काठमाडौं । नेपाल जापान फुटबल संघ (एनजेएफए) ले पूर्व खेलाडी तथा फुटबल प्रशिक्षक नरकुमार राईकी छोरीको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

सशस्त्र प्रहरीको महिला फुटबल टोलीका प्रशिक्षक समेत रहेका राईको १२ बर्षिय छोरी कुसुमी राई हाल ब्लड क्यान्सर पीडित रहेकी छिन् । राईको छोरीको उपचारका लागि यसअघि गोलनेपालमा समेत खबर प्रकाशित र सहयोग अभियान शुरु भएको थियो ।

राईले एनजेएफएलाई पनि आर्थिक सहयोग गर्न अपिल गरेको थियो । सोही आग्रहलाई स्वीकार गर्दै एनजेएफएले जापानमा आर्थिक सहयोग अभियान समेत चलाएको थियो । सोही अभियानबाट उठेको १ लाख ५६ हजार रुपैया राईलाई एनजेएफएका वरिष्ठ उपाध्यक्ष शिव खड्काको रोहवरमा रेट्यिान्समार्फत उपलब्ध गराइएको हो ।

राईको पारिवारिक स्रोतका अनुसार हाल छोरीको किमोथेरापी सम्पन्न भएर बोनम्यारो परिक्षणको क्रममा रहेको बताइएको छ । साथै कुसुमीको थप औषधी उपचारबारे डाक्टरले आगामी साता निर्णय लिने समेत परिवारिक स्रोतले जनाएको छ ।

उता यो सहयोग अभियानमा सबैतिरबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सबै शुभेच्छुक तथा फुटबल समर्थकहरुमा एनजेएफएका महासचिव मनोज श्रेष्ठले आभार तथा धन्यवाद व्यक्त गरे ।

विदेश मै रहे तापनि एक नेपाली र फुटबल समर्थकको हैसियतले यो सहयोग अभियानमा सहभागि बन्न पाउँदा खुशी लागेको बताउँदै श्रेष्ठले यस्ता समाजसेवाका कार्यहरु आगामी दिनहरुमा पनि निरन्तर जारी राख्ने उनले बताए ।

स्मरणीय छ, यसअघि एनजेएफएले घरायसी काम गर्ने क्रममा आँखामा गम्भिर चोट लाग्न पुगेकी महिला फुटबल खेलाडी समिक्षा मगरको उपचारमा पनि आर्थिक सहयोग गरेको थियो ।

नेपालन्युजपोष्ट

Post Comments