
काठमाडौं । दावेदार मध्ये एकका रुपमा हेरिएको साउदी प्रो लिग क्लब अल हिलाल जारी एसियाली क्लब फुटबलको सर्वोच्च प्रतियोगिता एएफसी च्याम्पियन्स लिग इलिटको सेमिफाइनलमा स्तब्ध बन्न पुगेको छ ।
लिगको पहिलो सेमिफाइनलतर्फ हिलालले मंगलबार राती अर्को साउदी प्रो लिग क्लब अल–अहली साउदीसँग १–३ को हार बेहोर्दै सेमिफाइनलबाटै बाहिरिन बाध्य बनेको हो ।
जेद्दाह शहरमा भएको खेलको नवौं मिनटमा रोबर्टो फर्मिनोको गोलबाट अल–अहलीले खेलमा अग्रता बनाएको थियो । २७औं मिनटमा इभान टोनीले त्यो अग्रता दोब्बर पारे ।
उता खेलको ४२औं मिनटमा सलेम अल–दावसरीले अल–हिलालका लागि पहिलो गोल फर्काए । तर टोलीको हार जोगाउन प्रर्याप्त बनेन । खेलको अन्तिमतिर इन्जुरी समयमा फिराज अल–बुरैकनले अल–अहलीका लागि तेस्रो गोल गर्दै टोलीको जित पक्का गरे ।
अल–अहलीले अब आज बुधबार हुने दोस्रो सेमिफाइनलतर्फ अर्को साउदी क्लब अल–नासर र जापानी क्लब कावासाकी फ्रन्टेल बीचको विजेतासँग फाइनल खेल्नेछ । फाइनल ३ मईका दिन जेद्दाह शहर मै हुनेछ ।