वाल्मीकीलाई दोस्रो भरतपुर मेयर कपको उपाधि

चितवन । दोस्रो भरतपुर मेयर कप फुटबलको उपाधि वाल्मीकी शिक्षा सदनले जितेको छ । आज (सोमबार) भएको फाइनलमा डन एकेडेमीलाई हराउँदै वाल्मीकि च्याम्पियन बनेको हो ।
प्रतिस्पर्धात्मक खेलमा वाल्मीकि १-० ले विजयी भयो । उसको जितमा अमृत आचार्यले निर्णायक गोल गरे । उनले दोस्रो हाफको २७ अौं मिनेटमा प्राप्त पेनाल्टीको सदुपयोग गर्दै निर्णायक गोल गरे । विजेता वाल्मीकिले ट्रफीसहित ५० हजार प्राप्त गरेको छ। उपविजेता डनले २५ हजारमा चित्त बुझाएको छ ।
फाइनलमा निर्णायक गोल गरेका अमृत प्लेयर अफ दि म्याच भए । वाल्मीकिका सरोज गुरुङ एलेक्स बेस्ट प्लेयर भए । उनले ५ हजार प्राप्त गरे । वाल्मीकिका विराज जमरकट्टेल बेस्ट गोलकिपर, डनका मनिष दिङ्गल बेस्ट डिफेन्डर, डनकै प्रसन कुँवर बेस्ट मिडफिल्डर, वाल्मीकिका धुर्व भुसाल र डनका सुमन श्रेष्ठ संयुक्त रुपमा बेस्ट कोच घोषित भए ।
नकआउटमा ३ गोल गरेका दुर्गा शेषकान्त माविका साईमन तामाङ सर्वाधिक गोलकर्ता भए । उनीहरुले जनही ३-३ हजार प्राप्त गरे । चितवन जिल्ला फुटबल संघको आयोजनामा तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा आयोजित प्रतियोगितामा २४ टोली सहभागी थिए । प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज रहेको थियो ।
Post Comments