बुटवल । आयोजक इभोलुशन क्लब यहाँ जारी तेस्रो इभोलुशन कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।
मंगलबार सम्पन्न दोस्रो क्वाटरफाइनलतर्फ इभोलुशनले हिमालय एफसीमाथि ३–१ को जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो । चारपाला रंगशालामा भएको खेलमा इभोलुशनका लागि सन्जु सेन ठकुरील े दुई गोल गरे भने थप एक गोल सन्दिप बिकले गरे । पराजित हिमालयका लागि भने समिर दगामीले एक मात्र गोल फर्काएका थिए ।
खेलमा महत्वपूर्ण दुई गोल गरेका आयोजक इभोलुशनका सन्जु सेन ठकुरी म्यान अफ दि म्याच समेत चुनिए । प्रतियोगिता अन्तर्गत बैशाख २४ गते बुधबारको तेस्रो क्वाटरफाइनल खेल साविक विजेता लिस्नु युवा क्लब र आदर्श युवा क्लबबीच हुने आयोजकले जानकारी दियो ।
इभोलुशन क्लब अफ बुटवल, तामनगर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१,१५१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल बैशाख २९ गतेका दिन हुनेछ ।