News भैसाही र योङ ब्वाईज क्वाटरफाइनलमा
सुरज राना मगर

पिपरीचापा । भैसाही युवा क्लब र योङ ब्वाईज क्लब यहाँ जारी दोस्रो गौतम बुद्ध कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

कञ्चन–५, पिपरीचापा, रुपन्देही स्थित गौतम बुद्ध खेलमैदानमा भएको दिनको पहिलो खेलमा भैसाहीले एमबी प्रदर्शलाई ३–२ ले हराउँदै अन्तिम आठमा स्थान बनायो । भैसाहीको जितमा एलिस मगरले दुई गोल गर्दा थप एक गोल सबी गुरुङले गरे । उता पराजित एमबी ब्रदर्शका लागि भने दुवै गोल बलराम न्यौपानेले गरे । खेलमा भैसाहीका एलिस मगर म्यान अफ दि म्याच चुनिए ।

त्यस्तै सोमबार नै भएको दोस्रो खेलमा योङ ब्वाईजले चाँदनी युवा क्लबमाथि ३–० को जित दर्ता गर्यो । योङ ब्वाईजका लागि अशोक सुनार, अमृत क्षेत्री र तनिष गुरुङले गोल गरे । खेलमा योङ ब्वाईज कै तनिष गुरुङ म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत भदौ ३ गते पनि दुई खेलहरु हुनेछन् । पहिलो खेल दिनको १ बजे करङे फुटबल क्लब र आयोजक गौतम बुद्ध सामुदायिक विकास केन्द्र बीच हुनेछ भने दोस्रो खेल ३ बजे बुद्ध सेभेन स्टार क्लब र न्यु सृजना युवा क्लबबीच हुने खेल संयोजक रोशन पुनले जानकारी दिए ।

गौतम बुद्ध सामुदायिक विकास केन्द्र, कञ्चन गाउँपालिका–५, पिपरीचापा, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६६,६६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष कमल दर्जीले जानकारी दिए । फाइनल खेल यही भदौ १० गतेका दिन हुनेछ ।

Post Comments