News एएफसी यु–१७ एसियन कप छनौटः बंगलादेश र पाकिस्तानको लगातार दोस्रो जित
गोलनेपाल

काठमाडौं (एजेन्सी) । एएफसी यु–१७ एसियन कप छनौटतर्फ नेपालले लगातार दुई हार बेहोर्दा दक्षिण एसियाका बंगलादेश र पाकिस्तानले भने लगातार दोस्रो जित हात पारेका छन् ।

समूह ए तर्फ आफ्नो पहिलो खेलमो टिमोर लिस्टेलाई ५–० ले हराएको बंगलादेशले आफ्नो दोस्रो ेखेलमा ब्रुनेईमाथि ८–० को फराकिलो जित दर्ता गरेको छ । समूह ए मै रहेको श्रीलंकाले भने आफ्नो दोस्रो खेलमा बहराईनसँग १–२ को हार बेहोरेको छ । श्रीलंकाले आफ्नो पहिलो खेलमा ब्रुनेईलाई ४–० ले हराएको थियो ।

उता समूह बी तर्फ आफ्नो पहिलो खेलमा कम्बोडियालाई ३–१ ले हराएको पाकिस्तानले सोमबार दोस्रो खेलमा किर्गिस्तानलाई समान ३–१ कै अन्तरले पराजित गर्यो । लगातार दुई जित हात पारेका बंगलादेश र पाकिस्तानको एएफसी यु–१७ एसियन कपमा छनौट हुने सम्भावना कायम छ ।

त्यस्तै समूह ई तर्फ आफ्नो पहिलो खेलमा जोर्डनसँग ५–० ले पराजित हुन पुगेको भुटानले सोमबार बलियो फिलिपिन्सलाई गोलरहित बराबरीमा रोक्र्दै पहिलो अंक जोड्यो ।

उता समूह एफमा रहेको माल्दिभ्सले लगातार दोस्रो हार बेहोर्ने क्रममा तुर्कमेनिस्तानसँग ६–० ले पराजित हुन पुग्यो । माल्दिभ्सले आफ्नो पहिलो खेलमा मंगोलियासँग १–० को हार बेहोरेको थियो ।

स्मरण रहोस, उता समूह जी मा रहेको नेपालले भने आफ्नो पहिलो खेलमा सिरियासँग ४–२ र दोस्रो खेलमा सोमबार म्यानमारसँग ४–० ले पराजित हुन पुगेको थियो ।

Post Comments