News सप्तरीमा दोस्रो महुली गोल्डकप शुरु, तालतलैयाको विजयी शुरुवात
गोलनेपाल

महुली । शनिबारदेखि शुरु भएको दोस्रो महुली गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा तालतलैया फुटबल क्लब, इटहरी, सुनसरीले विजयी शुरुवात गरेको छ ।

उद्घाटन खेलमा तालतलैयाले पथरी–११ फुटबल क्लब, मोरङलाई १–० को झिनो अन्तरले हराउँदै विजयी शुरुवात गरेको हो । तालतलैयाका लागि पुजन चौधरीले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता चौधरी नै खेलको म्यान अफ दि म्याच चुनिए ।

यो जितसँगै तालतलैया सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत माघ १८ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल आयोजक महुली फुटबल क्लब, सप्तरी र डी.डी.वाई.सी. बेलटार, उदयपुरबीच हुने आयोजकले जानकारी दियो ।

महुली फुटबल क्लब, महुली, सप्तरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने यही माघ २४ गतेका दिन हुनेछ ।

 

Post Comments