News मच्छिन्द्रको सहज जित, एनआरटीसँग च्यासल निराश
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगतर्फ स्टार खेलाडीहरुले भरिएको मच्छिन्द्र क्लबले प्रभावशाली जित निकाल्दा अर्को खेलमा च्यासल युथ क्लब भने पराजित हुन पुगेको छ ।

दशरथ रंगशालामा भएको पहिलो खेलमा मच्छिन्द्रले फ्रेण्डस क्लबमाथि ३–० को जित निकाल्यो । खेलको २८औं मिनटमा मच्छिन्द्रका लागि पिटर सेगुनले हेडमार्फत पहिलो गोल गरे ।

पहिलो हाफमा १–० को अग्रता बनाएको मच्छिन्द्रले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । ५०औं मिनटमा सोमिडे अडिलेजाले ह्वाइट लायन्सका लागि दोस्रो गोल गरे भने खेलको अन्तिमतिर ८५औं मिनटमा रेजिन सुब्बाले तेस्रो गोल गर्दै मच्छिन्द्रको प्रभावशाली जित पक्का गरे । खेलमा मच्छिन्द्रका बिशाल राई म्यान अफ द म्याच घोषित भए ।

एनआरटीसँग च्यासल निराश

त्यस्तै दशरथ रंगशालामै बुधबार भएको दोस्रो खेलमा न्युरोड टिम (एनआरटी) ले च्यासल युथ क्लबलाई २–१ ले निराश तुल्यायो । खेलको २३औं मिनटमै जुनियर एनगुएनेको गोलबाट एनआरटीले खेलमा शुरुवाती अग्रता बनाएको थियो ।

यद्यपि दोस्रो हाफको ७१औं मिनटमा जोर्डन एनडेम्बाले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेपछि एनआरटी दश खेलाडीमा सिमित हुन पुगेको थियो । तर च्यासलले त्यसको फाईदा लिन सकेन ।

८६औं मिनटमा एनआरटीका लागि दर्शन गुरुङले दोस्रो गोल थप्दा च्यासल थप दबाबमा परेको थियो । उता खेलको अन्तिमतिर इन्जुरी समयमा च्यासलका लागि अमिर श्रेष्ठले एक गोल फर्काएता पनि टोलीको हार टार्न त्यो गोल पर्याप्त बनेन ।

Post Comments