
तिलोत्तमा । सहज जित हात पार्दै सञ्जिवनी युवा क्लब यहाँ जारी २१औं लिस्नु कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम प्रिक्वाटरफाइनलमा सञ्जिवनीले आहना फुटबल क्लबलाई ५–१ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो ।
श्री पशुपति माविको खेलमैदानमा भएको खेलमा सञ्जिवनीका लागि फागुराम थारु र जमिर मियाँले दुई–दुई गोल गरे भने मोहन थापाले थप एक गोल गरे । उता पराजित आहनाका लागि कप्तान मिलन आलेले एक मात्र गोल फर्काएका थिए ।
खेलमा सञ्जिवनीका कप्तान अनुप बुढा मगर म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३५ सय र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत भदौ २७ गते बुधबारको पहिलो क्वाटरफाइनल खेल नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार र फर्साटिकर युवा क्लबबीच हुने खेल संयोजक नेम गुरुङले जानकारी दिए ।
स्व.जमान सिंह गुरुङको स्मृतिमा छोरा विजय गुरुङ, छोरीहरु टिकमाया गुरुङ, तनुजा गुरुङ र स–परिवारको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५५ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष तिर्थराज मल्लले जानकारी दिए ।
त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि नगद २५–२५ हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल असोज ५ गतेका दिन हुनेछ ।