News रियल फ्रेण्डस भेट्रान सेमिफाइनलमा
गोलनेपाल

इटहरी । रियल फ्रेण्डस भेट्रान, सिक्किम, भारत यहाँ जारी चौथो इटहरी भेट्रान गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

बुधबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा रियल फ्रेण्डसले मिल्स भेट्रान क्लब, मोरङलाई टाईब्रेकरमा ४–३ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

त्यसअघि जनता बहुमुखी क्याम्पसको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ रियल फ्रेण्डसका लागि धर्मेन्द्र क्षेत्रीले गोल गरे भने मिल्सका लागि जय डंगोलले गोल गरेका थिए ।

खेलमा रियल फ्रेण्डसका माइकल लेप्चा म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत चैत १ गते बिहीबारको पहिलो सेमिफाइनल खेल आयोजक हाम्रो इटहरी भेट्रान क्लब र हाम्रो धरान भेट्रान क्लब बीच हुने आयोजकले जानकारी दियो ।

हाम्रो इटहरी भेट्रान क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १० हजार हात पार्नेछ भने उपविजेताले ६१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र ३ गतेका दिन हुनेछ ।

Post Comments